काठमाडौँ । तीनकुने घटनामा दुर्गा प्रसाईं सहित ६१ जनाविरुद्ध काठमाडौ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । चार बालबालिकाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता हुँदैछ । प्रसाईलाई पत्रकार सुरेश रजकको हत्यामा संलग्न कसुरमा पनि प्रतिवादी बनाइएको छ ।
प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअगावै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा प्रसाईंले भनेका छन्, ‘म कार्यक्रमस्थलमा आउनुभन्दा अघि नै अतिथिहरुलाई आसनग्रहण गराइ कार्यक्रम सुरु भइ राष्ट्रिय गान बज्न थालेपछि स्टेजमै टियरग्याँस र गोलीहरू चलेर मान्छेहरू भागदौड भइसकेको थियो, त्यस कारण कार्यक्रमस्थलमा मेरो कुनै भूमिका पनि भएन ।’
आफू सुरुमा कार्यक्रम स्थलमा जाने स्थिति समेत नभएको भन्दै उनले भने, ‘नवराज सुवेदी नेतृत्वको समितिले नै कार्यक्रमको स्वामित्व र अपनत्व लिएर दुवै संस्थाको संयुक्त ब्यानरमा गर्ने भनिए अनुसार तयारी र योजना गरेर कार्यक्रम आयोजना गरिएको हो ।’
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले तीनकुनेमा भिडलाई आपराधिक काम गर्न उक्साउने र तोडफोड गर्न लगाउने व्यक्ति सन्तोष सिलवाल ‘राजावादी’ हुनुपर्ने बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने मानिस सन्तोष सिलवाल र निजको समूह हुनुपर्छ ।’
प्रदर्शनकारीले आगजनी गरेपछि मृत्यु भएका पत्रकार सुरेश रजकलाई आफूले नचिनेको प्रसाईंले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘मैंले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागि निर्देशन दिएको पनि थिएन ।’
आफू कार्यक्रमस्थलमा रहुञ्जेलसम्म तोडफोड र आगजनी नभएको प्रसाईंले जिकिर गरेका छन् । उनले भनेका छन्, ‘म सुरक्षित स्थलतर्फ हिँडेपछि सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोहरू हेर्दा रवीन्द्र मिश्र र डा. धवल शमशेर समेतको नेतृत्वमा संसद कब्जा गर्ने भनी हुलभीडको समूहलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भएपछि उत्तेजित समूहले तोडफोड तथा आगजनी गरेको जस्तो देखिन्छ ।’