तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जीप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जीप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । जीपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ ।
उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो। घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।