बुटवल। गुल्मी बम्घा–रुपन्देही सम्पर्क समाजको दोस्रो साधारण सभा शनिबार तिलोत्तमा नगरपालिकाको योगिकुटीमा सम्पन्न भएको छ।
समारोह समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथि, तिलोत्तमा वडा नं. १ का अध्यक्ष फर्शुराम गिरी र रुरु क्षेत्र–५ का वडाध्यक्ष हरि प्रसाद ज्ञवाली विशिष्ट अतिथि हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन समाजका सचिव प्रकाश लाल श्रेष्ठले गर्नुभएको थियो।
उपाध्यक्ष रुद्र प्रसाद ज्ञवालीले स्वागत मन्तव्य दिँदै समाजको निरन्तर सक्रियता र सदस्यहरूबीच बढ्दो सहकार्यको प्रशंसा गर्नुभयो। भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
समाज अध्यक्ष कृष्ण प्रसाद भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सरोज ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो।
प्रमुख अतिथि यदु ज्ञवालीले गाँउपालिकामा चालु रहेका योजनाबारे जानकारी दिँदै भन्नुभयो, “एक घर एक धारा अभियानअन्तर्गत घर–घरमा खानेपानी पुर्याउने काम अघि बढिरहेको छ। सडक विस्तार र कालोपत्रे कार्यले बस्तीलाई शहरको जस्तो अनुभूति दिन थालेको छ। स्वास्थ्य सेवामा सुधार ल्याउन प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई सशक्त बनाउँदैछौँ।”
ज्ञवालीले थप भन्नुभयो, “योजना बनाउँदा केवल भौतिक विकास होइन, सामाजिक र मानविक पक्षलाई पनि ध्यानमा राखिएको छ। हामी युवाहरूको सीप विकास, महिलाहरूको आत्मनिर्भरता, र जेष्ठ नागरिकहरूको सम्मानका लागि विशेष कार्यक्रमहरू तयार गर्दैछौँ।”
उहाँले सम्पर्क समाजले समुदायमा एकताको भावना फैलाउन खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो। अन्तमा उहाँले समाजसँग सहकार्य गर्दै गाउँ र शहरबीचको भावनात्मक दूरी घटाउने र विकासका कामलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसै गरी समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले रुपन्देहीमा आएर बसोबास गरिरहेका बम्घेली समुदायका सदस्यहरूलाई लक्षित गर्दै अब वर्षको दुईपटक प्रशासनिक सेवा स्थानमै उपलब्ध गराइने भएको छ।
समाजको आयोजनामा हुने यो सेवाबाट प्रशासनिक कामहरू सरल हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। “रुपन्देहीमा बस्दै आएका धेरैजसो बम्घेली दाजुभाइहरू र दिदीबहिनीहरूलाई सेवा लिन पहाडको घरधुरी जानुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “अब वर्षमा दुईपटक सेवा यहीँ ल्याएर दिने व्यवस्था मिलाउँदैछौं।”
यस निर्णयले बम्घेली समुदायका वृद्ध, महिला, रोजगारीमा व्यस्त व्यक्तिहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। अध्यक्ष भण्डारीका अनुसार यो कार्यक्रम समाजको आफ्नै पहलमा, समुदायको सहकार्यमा र सबैका लागि खुला हुनेगरी सञ्चालन गरिनेछ।
उहाँले बम्घेली समाजले भाषा, संस्कृति, पहिचान र एकताको संरक्षणका लागि निरन्तर प्रयास गरिरहेको जानकारी पनि दिनुभयो। “हामीले विगतमा शिक्षा, स्वास्थ्य, भाषा प्रवर्द्धन, रोजगारको अवसरजस्ता विषयमा काम गरेका छौं,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ रचनात्मक र स्थायी काम गर्ने सोचमा छौं।”विशेष गरी रोजगारी र व्यवसायका सिलसिलामा रुपन्देही झरेका बम्घेलीहरूका लागि समाज एक साझा थलोको रूपमा स्थापित हुँदै आएको छ। उहाँले यस निर्णयले बम्घेली समुदायका धेरै सदस्यहरूलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै विशिष्ट अतिथि हरि प्रसाद ज्ञवालीले बम्घामा भइरहेको खानेपानी, सडक कालोपत्र, रेडक्रससँगको सहकार्य, एम्बुलेन्स सेवा, विद्युत युनिट वितरणजस्ता विकास गतिविधिबारे जानकारी गराउनुभयो। तिलोत्तमा-१ का वडा अध्यक्ष फर्शुराम गिरीले नागरिकको सहभागिता र समाजको एकताले सामाजिक रूपान्तरणमा टेवा पु¥याउने उल्लेख गर्दै समाजको कामको प्रशंसा गर्नुभयो।
समाजका आजीवन सदस्य मिना भण्डारी, हरि प्रसाद ज्ञवाली र सल्लाहकार हरि प्रसाद ज्ञवाली (पागा) ले पनि मन्तव्य राख्दै समाजको स्थापना, उद्देश्य र यात्राबारे चर्चा गर्नुभयो। उहाँहरूले नयाँ पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याउनुभयो।
कार्यक्रममा समाजका आजीवन सदस्य तथा आर्थिक सहयोग पुर्याउने व्यक्तिहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको पहलमा वि..सं. २०७३ मा स्थापना भएको समाजले २०७७ मा आफ्ना विधान तयार गरेको थियो। हालसम्म ७२ जना नयाँ सदस्य थपिँदा आजीवन सदस्य संख्या १०२ पुगेको छ। समाजले भविष्यमा सदस्य विस्तारसँगै बम्घा र रुपन्देही क्षेत्रमा थप सामाजिक गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।