तिलोत्तमा, जेठ ९ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा आयोजित दुई दिने निःशुल्क पाठेघर जाँच शिविर सम्पन्न भएको छ। वडा नम्बर ५ को आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा महिलाहरूको पाठेघरको मुख (सर्भिक्स) सम्बन्धी क्यान्सर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको हो।
शिविरमा देवदह मेडिकल कलेजबाट आएका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आरती श्रेष्ठको नेतृत्वमा २५० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा ८० प्रतिशत महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको डा. श्रेष्ठले जानकारी दिनुभयो। उहाँले महिलाहरूले समयमै स्वास्थ्य परीक्षण गराउनुका साथै सचेत रहनुपर्नेमा जोड दिनुभयो।
वडा अध्यक्ष रमेश डुम्रेका अनुसार, दुई दिनसम्म सञ्चालन गरिएको शिविरले महिलाहरूको स्वास्थ्यप्रति सचेतना जगाउने अवसर प्रदान गरेको छ। “महिलाको स्वास्थ्य सुरक्षित रहनु नै समग्र परिवार र समाजको समृद्धिको आधार हो। यस्ता कार्यक्रममार्फत हामी जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने प्रयासमा छौं,” अध्यक्ष डुम्रेले भन्नुभयो।
वडा सदस्य हरि पन्थले शिविर सफलताका लागि सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै महिलाहरूको लागि यस्ता स्वास्थ्य सेवाहरू अझै सुलभ र प्रभावकारी बनाउन निरन्तर पहल गरिने प्रतिबद्धता जनाउनुभयो। “स्वास्थ्य सचेतना नै रोग निवारणको पहिलो उपाय हो,” सदस्य पन्थले भन्नुभयो।
समापन कार्यक्रममा वडा सदस्य डायमण्ड गिरि, धर्मादेवी न्यौपाने, प्रमिला सुनार, स्वास्थ्य निरीक्षक रामप्रसाद ढकाल, वडा सचिव हरी खतिवडा, स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, स्वास्थ्य स्वयंसेविकासहित अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
वडा कार्यालयका अनुसार, आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यमुखी कार्यक्रमलाई निरन्तरता दिइने छ।