बुटवल । शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालमा पित्तथैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राहीहरुलाई विशेष कार्यक्रम सञ्चालन गरी उपचार गर्न लागिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।
अस्पतालमा आगामी असार १ गतेदेखि एक महिना लामो अभियान सञ्चालन गरी पालोमा रहेका सबै सेवाग्राहीको पित्तथैलीको शल्यक्रिया गरिने उनले जानकारी दिए । यो अभिान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको उनले बताए । उक्त अभियान सञ्चालनका लागि अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै २०८२ असार १ गतेपछि पालो परेका सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । जेष्ठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका मेसु डा. ढकालले जानकारी दिए । उक्त कार्यक्रममा ३ सय जना बढीले सेवा लिने अनुमान गरिएको उनले बताए ।
अस्पताल बिस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिकमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ । अस्पतालका प्रशासकीय प्रमुख राजन केसीका अनुसार विगत ३ वर्षको तथ्याङ्क मूल्याङ्कन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । विशेषगरी साविक लुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलरासी तथा प्युठानबाट समेत उपचारका लागि यहाँ आउने गर्दछन् । अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टकृत सेवाहरुलाई थप गर्दै लैजाने तथा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पतार परिवारले योजनावद्ध क्रियाकलपा सञ्चालन गर्दै आएको मेसु ढकालले दाबी गरे ।