बुटवल।तिलोत्तमा नगरपालिका वडा नं ५ को आयोजनामा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। वडा कार्यालयको परिसरमा बिहीबारदेखि सुरु भएको शिविर दुई दिनसम्म सञ्चालन हुनेछ।
शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाँणले महिलाहरूको स्वास्थ्य सुदृढ नभएसम्म समाजको समुन्नति सम्भव नहुने बताउँदै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “स्वस्थ महिला भनेको स्वस्थ परिवार र समृद्ध समाजको आधार हो,” उहाँले भन्नुभयो।
वडा नं ५ का अध्यक्ष रमेश डुम्रेले शिविरले वडाका सम्पूर्ण महिलालाई लक्षित गरेको बताउँदै समयमै स्वास्थ्य परीक्षण गर्नु महिलाको सशक्तिकरणतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। “स्वस्थ जीवनका लागि सचेतना र समयमै जाँच अनिवार्य छ,” उहाँले जोड दिनुभयो।
शिविरको पहिलो दिन ११७ जना महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गराएका छन्। तीमध्ये ६१ जनामा शंका लाग्दा थप परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी स्त्रीरोग विशेषज्ञ डा. आरती श्रेष्ठले दिनुभयो। शिविरको दोस्रो दिन (शुक्रबार) पनि परीक्षण, परामर्श र औषधि वितरण सेवा जारी रहने वडा सदस्य डायमण्ड गिरीले जानकारी दिनुभयो।
स्वास्थ्य शिविरको सञ्चालन वडा सचिव हरी खतिवडाले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य वडा स्वास्थ्य शाखाका प्रमुख गणेश भण्डारीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा वडा सदस्यहरू धर्मादेवी न्यौपाने, प्रमिला सुनार, स्वास्थ्य निरीक्षक रामप्रसाद ढकाल, स्वास्थ्य स्वयंसेविकाहरू, टोल विकास समितिका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।