दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताएका छन् । नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले विपक्षीले प्रशंसा गरेमा बाटो बिराएको भनेर बुझ्नुपर्ने बताए ।
‘विपक्षीहरूले प्रशंसा गर्न थाले भने आफूले बाटो बिराएको सम्झनु पर्छ । उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय होइन’, उनले भने । उनले एमालेले विगतका हरेक संकटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित गरिसकेको दाबी गरे । पोखरेलले भने, ‘एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो । हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौँ ।’
स्थानीय सरकाले गरेका राम्रा कामको प्रचार गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिको उपलब्धि र आगामी चुनौतीबारे जानकारी गराइएको थियो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले नगरस्तरीय विकास योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो ।