काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका छन्। पौडेलले सर्वोच्च अदालत पुगेर राउतसँग शपथ लिएका हुन् । गभर्नर प्रधानन्यायाधीशसँग शपथ लिने कानुनी व्यवस्था छ । पौडेल शपथ लिएर पद बहाली गर्न नेपाल राष्ट्र बैंकतर्फ लागेका छन् । पौडेलले आज नै पदभार ग्रहण गर्दैछन् ।
सरकारले मंगलबार अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।
पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचनमा पराजित भए पनि पुनः अध्यापन पेसामा फर्केका पौडेल नेपाली कांग्रेसको कोटाबाट मंगलबार राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल पद छाडेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गएका थिए ।