बुटवल।रुपन्देही जिल्लाको केन्द्र भागमा अवस्थित तिलोत्तमा नगरपालिका अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। बुद्धभूमि लुम्बिनी नजिकै रहेको र बुटवल–भैरहवा जस्ता मुख्य सहरसँग जोडिएको यो नगर शान्त वातावरण, हरियाली पार्क, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, आधुनिक संरचना र आकर्षक सडक संरचनाका कारण पर्यटकको गन्तव्य बन्न थालेको हो।
तिलोत्तमा नगरपालिकामा प्रवेश गरेपछि जो कोहीलाई सहजै थाहा हुन्छ कि उनी लुम्बिनी क्षेत्रमै छन्। नगरको बीच भागबाट गुड्ने ६ लेन सडकमा सवारी चलाउँदा दायाँबायाँको हरियाली, बीच सडकमा राखिएका गौतमबुद्धका आकर्षक मूर्तिहरूले मन लोभ्याउँछ। १४ किलोमिटर लम्बाईको मुख्य सडक खण्डमा ४० स्थानमा बुद्धका मूर्तिहरू राखिएका छन्। यसबाट लुम्बिनी क्षेत्रको शान्ति र बौद्धभाव झल्किन्छ। बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने वा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउने विदेशी पर्यटक लुम्बिनी घुमेपछि तिलोत्तमाको यही ६ लेन सडक हुँदै बुटवल, पाल्पा, पोखरा र मुक्तिनाथसम्मको यात्रा गर्छन्। यो सडक अहिले तिलोत्तमाको पर्यटकीय मार्गको रुपमा परिचित छ।

सिक्सलेन सडकको साईडमा झकमक्क फुलेका फुलहरु
सडककै कुरा गर्दा तिलोत्तमामा अर्को महत्वपूर्ण मार्ग बुद्ध परिपथ सडक हो । यो सडक लुम्बिनीबाट देबदह, सिवपुर, चारनम्बर, मणिग्राम हुँदै सुद्धोधन गाउँपालिकाको फर्साटिकर–सूर्यपुरा हुँदै फेरि लुम्बिनी नै पुग्छ। बुद्ध परिपथले तिलोत्तमालाई लुम्बिनी र कपिलवस्तुसँग जोडी दिएको छ। यी सडकहरुले तिलोत्तमालाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अझ आकर्षक बनाएका छन्।
तिलोत्तमामा पर्यटक लोभ्याउने गन्तव्य धेरै छन्। तीमध्ये सबैभन्दा बढी चर्चित स्थल शंकरनगर सामुदायिक बनवाटिका हो। तिलोत्तमा–१ र २ मा फैलिएको यो बनवाटिका करिब ७५ विघा क्षेत्रफलमा फैलिएको छ। यहाँ चिडियाखाना, वनस्पतिको अध्ययन केन्द्र, रमणीय पार्क र भ्युटावर छन्। बनवाटिकामा चितुवा, भालु, हरिण, निलगाई, अजिंगर, स्याल लगायतका २१ प्रजातिका करिब डेढ सयभन्दा बढी वन्यजन्तु छन्।
तिलोत्तमा–१ र २ मा फैलिएको शंकरनगर सामुदायिक वन बनवाटिका पर्यावरणीय पर्यटनको मुटु बनेको छ। वनवाटिका व्यवस्थापन समितिका अध्यक्ष खेम पाण्डेका अनुसार आर्थिक वर्ष २०८०र८१ मा झन्डै ४ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटक यहाँ आए। चालु आर्थिक वर्ष २०८१ र ८२ को चैत्र महिनासम्ममा मात्र आगन्तुक सङ्ख्या ३ लाख ५० हजार नाघिसकेको छ।

वनवाटिका प्रवेशद्वार
शंकरनगर बनवाटिकाभित्रै निर्माण गरिएको बहुउद्देश्यीय भ्युटावरको माथिबाट टेलिस्कोप क्यामेरामार्फत बुटवल, भैरहवा मात्रै होइन, भारतको गोरखपुरसम्म देख्न सकिन्छ। होटल, रेष्टुरेन्ट र व्यावसायिक कक्ष रहने यो टावर अझै सञ्चालनमा आउन बाँकी छ, तर यसप्रति पर्यटकको चासो बढ्दो छ।
तिलोत्तमामा तिनाउ नदी किनारमा रहेको तिलोत्तमा पार्क, बाउन्नकोटी सामुदायिक वन क्षेत्रभित्रको रमणीय क्षेत्र, हरियाली पार्क, बिपी कोइराला पार्क, हात्ती पार्क, मिलन पार्क, संगम पार्क, करहिया बोटानिकल गार्डेन, हरैयापार्क, तिलोत्तमा खेल मैदान तथा पार्क, जेष्ठ नागरिक मिलन तथा सम्झना बाल उद्यान पार्क, कोटहीमाई पार्क, कालिका सामुदायिक वन क्षेत्रभित्र रहेको पार्क, जमुहानी पार्क, ग्रीन पार्क लगायत थुप्रै खुल्ला क्षेत्र र प्राकृतिक वातावरणयुक्त पार्कहरु रहेका छन्। यी पार्कले केवल स्थानीयको फुर्सदिलो समय बिताउने थलो बनेका छैनन्, बाहिरबाट आउने पर्यटकलाई पनि हरियालीसहितको विश्राम दिने वातावरण बनाएका छन्।

चिल्हिया पार्क
धार्मिक पर्यटनको कुरा गर्दा तिलोत्तमा निकै सम्भावनायुक्त नगर मानिन्छ। तिलोत्तमा–६ मा मोक्षधाम निर्माण भइरहेको छ। नेपालका चार धाम र भारतका चार धामको झल्को दिने गरी निर्माण हुँदै गरेको मोक्षधामको संरचनामा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले बजेट विनियोजन गरेका छन्। यसले भविष्यमा धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तिलोत्तमा–४ मा रहेको श्रृगेश्वर धाम
त्यस्तै तिलोत्तमा–४ मा रहेको श्रृगेश्वर धाम, करौजियामा शान्ति गुम्बा, वडा नम्बर ८ मा विन्दबासिनी मन्दिर, बौद्ध धर्मावलम्बीहरुको उदय विहार, कुमारवर्ती कुवा, सरस्वती पंचायन मन्दिर, बैदिक आश्रम, देवीस्थान मन्दिर, विभिन्न मठमन्दिर र बौद्ध गुम्बा तिलोत्तमाका धार्मिक र सांस्कृतिक गन्तव्य हुन्। यी स्थलहरूमा विशेष गरी चाडपर्वका अवसरमा भव्य मेला लाग्ने गर्छन्।
कृषि पर्यटनको सम्भावना बोकेको तिलोत्तमामा आलु, तरकारी, गहुँ, मकै, धानजस्ता बालीको पकेट क्षेत्रहरू छन्। माछा पालन, पशुपालन, बङ्गुर फार्म, कुखुरा फार्म, गोठ सञ्चालनजस्ता कृषि व्यवसायले समेत तिलोत्तमाको पर्यटनमा थप योगदान पुर्याइरहेका छन्।
तिलोत्तमा शिक्षा र स्वास्थ्यको दृष्टिकोणले पनि सुगम नगरका रूपमा परिचित हुँदै गएको छ। यहाँका नाम चलेका शैक्षिक संस्था र निजी अस्पतालहरूले लुम्बिनी क्षेत्रका विद्यार्थी तथा सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेका छन्। यसले पनि तिलोत्तमालाई बसोबास र भ्रमण दुवैका लागि उपयुक्त बनाएको छ।
नगरपालिका मेयर रामकृष्ण खाणका अनुसार तिलोत्तमालाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित विभिन्न योजना अगाडि बढाइएका छन्। उनले भने, “नगरपालिकाको सिमित स्रोतसाधनका बाबजुद पनि ऐतिहासिक स्थलको संरक्षण, पार्कहरूको विकास, सडक सुधार र हरियाली प्रवद्र्धनमा काम भइरहेको छ। प्रदेश र संघ सरकारसँग समन्वय गर्दै पर्यटकीय पूर्वाधार निर्माणलाई गति दिइएको छ।
पर्यटन विकाससँगै रोजगार सिर्जना, व्यवसायको प्रवद्र्धन र नगरको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न थालेको छ। होटल, रेष्टुरेन्ट, होमस्टे, यातायात र कृषि व्यवसायमा संलग्न युवाले प्रत्यक्ष लाभ उठाइरहेका छन्। तिलोत्तमा आउने पर्यटकलाई कम्तीमा एक दिन यहाँका स्थल घुमाउने गरी प्याकेज बनाउन सकिने नगर प्रमुख खाणको भनाइ छ।
यसरी हेर्दा तिलोत्तमा नगरपालिका केवल बुटवल र भैरहवा जोड्ने सडक मार्ग मात्रै होइन, बुद्धमार्ग भएर धार्मिक, सांस्कृतिक, प्राकृतिक र कृषि पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। लुम्बिनीको शान्तिको सन्देश बोकेको यो नगरमा प्रकृति, परम्परा र प्रगतिको सुन्दर संगम देख्न पाइन्छ। तिलोत्तमाले भविष्यमा लुम्बिनी क्षेत्रको पर्यटन विकासमा सशक्त भूमिका खेल्ने सम्भावना बोकेको छ।