बुटवल। बुटवलमा रहेको समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र पाएको छ । सोमबार आयोजित कार्यक्रममा एकेडेमीबाट कपाल काट्ने र कपालमा रसायन प्रयोग गर्ने तालिम पुरा गरेका ३६६ जनाले प्रमाणपत्र प्राप्त गरेका छन् ।
उद्घाटन गर्न आएका कलाकार सन्दीप क्षेत्रीले अहिलेको समय सीपको भएको भन्दै कपाल काट्ने सीपले मानिसलाई आत्मनिर्भर बनाउने, रोजगारी दिलाउने र विदेश गएर पनि बेरोजगार बस्न नपर्ने बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले हेयर ड्रेसिङ व्यवसायले बुटवलको रोजगारी बजारमा नयाँ सम्भावना खोलेको बताए भने नेपाल नाइ संघका अध्यक्ष जय श्याम ठाकुरले परम्परागत नाइ पेशा आधुनिक तालिम र उपकरणसहित झन् सम्मानित बनेको बताए । सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष आशु गुरुङले महिलाहरूले पनि यो सीप सिकेर आफ्नै सैलुन खोलेर आत्मनिर्भर बन्न थालेको उदाहरण प्रस्तुत गरिन् । आइएसओ प्रतिनिधि टिकाराम शर्माले एकेडेमीले पाठ्यक्रमको स्पष्ट संरचना, दक्ष प्रशिक्षक, सुरक्षित अभ्यास कक्ष र विद्यार्थी सन्तुष्टि जस्ता सबै मापदण्ड पूरा गरेकाले प्रमाणपत्र प्रदान गरेको स्पष्ट पारे । 
एकेडेमीका संचालक मोहन ठाकुरले आठ वर्षअघि दुई कुर्सी र केही सामान्य उपकरणबाट सैलुन सुरु गरेको स्मरण गर्दै राम्रो व्यवहार र सफा सेवा देखेर ग्राहक बढेसँगै तालिम केन्द्र खोलेको र अहिले सात कक्षा कोठा, विशेष प्रयोगशाला र पुस्तकालय भएको ठूलो एकेडेमीमा रूपान्तरण भएको बताए । उनले अब अनलाइन कक्षा सुरु गरेर दूरदराजका युवालाई पनि भिडियोमार्फत बेसिक कोर्स पढाउने योजना सुनाए ।
तालिम सकेर प्रमाणपत्र पाएका विद्यार्थीहरूमध्ये रुपन्देहीकी सरिता चौधरीले प्लस टु सकेपछि छह महिनाको कोर्स गरेर आफ्नै सैलुन खोल्ने तयारी गरिरहेको बताइन्, भने पाल्पाका अमर गुरुङले कतारमा मजदुरी गरे पनि अब हेयर ड्रेसर भएर स्वदेशमै बस्न पाउँदा खुसी लागेको बताए । यस एकेडेमीका गतिविधिले रोजगारी सृजना, उद्यमशीलता प्रवर्द्धन र सेवाको गुणस्तर उकास्दा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
 
			        

 
												 
														

