नारायणघाट–बुटवल सडक (दाउन्ने बाहेक) ९४ किमी पक्की, ८३ % भागमा सवारी सहज

Shares

बुटवल। महेन्द्र राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक विस्तार योजनामा दाउन्ने खण्डबाहेक सबै भागमा एकतर्फी कालोपत्र (ब्ल्याकटप) सकिएको छ ।

यससँगै करिब ९३.९४ किलोमिटर क्षेत्रमा पक्की सडकमा यात्रा सम्भव बनेको छ । कुल ११३.५३ किलोमिटर सडकमध्ये ३.०७ किलोमिटर भाग पुलले ओगटेको छ भने ९०.८७ किलोमिटर सडकमा एकतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । यसरी पुल र कालोपत्र गरी ८३ % क्षेत्रमा सवारी साधन सहजै गुड्न सक्ने स्थितिमा पुगेको आयोजना कार्यालयले जनाएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै सो खण्डमा पनि कालोपत्र थाल्ने तयारी छ । कतिपय स्थानमा ढलान (कन्क्रिट) सडक निर्माणसमेत सँगसँगै अगाडि बढेको छ ।

हालसम्म यस सडकखण्डको भौतिक प्रगति ६६.५० प्रतिशत रहेको छ । निर्माण सम्पन्न भएसँगै यात्रा समय घट्ने, सवारी सुरक्षित बन्ने र बुटवल–भरतपुरसहितका बजारमा माल ढुवानी छिटो तथा सस्तो हुने आयोजना कार्यालयको दाबी छ । दाउन्ने खण्डमा काम जारी रहेकाले भारी सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न र निर्माणस्थल आसपास सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

You may also like