बुटवल।फिल्म ‘ऊनको स्वीटर’ ले रिलिजको दोस्रो सातामा पनि नेपाली बक्स अफिसमा धमाकेदार कमाइ जारी राखेको छ र यही उत्साहलाई थप ऊर्जा दिन कलाकार तथा निर्माण टिम मोफसल यात्रामा निस्कँदा शनिबार बुटवल पुगेको थियो ।
टिमले बुटवलका विभिन्न सिनेमा हल परिक्रमा गरी दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया साट्दा अधिकांश शोहरू हाउसफुल रहे र बालबालिका, युवा तथा ज्येष्ठ दर्शक सबै उमेरसमूहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो ।

आइतबार बिहान तिलोत्तमास्थित होटल पौवामा नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा अभिनेता विपिन कार्कीले दर्शकबाट पाएको मायाले आफूहरूलाई विशेष ऊर्जा दिएको बताए । यसै फिल्मबाट नायकका रूपमा डेब्यु गरेका एलेक्स पारसले हलभित्र दर्शकको ताली, हाँसो र आँसुले अभिनय करियरप्रतिको विश्वास बलियो बनाएको प्रतिक्रिया दिए भने नायिका परीक्षा लिम्बु र शीर्ष गीत गायक सुजन चापागाईंले पनि बुटवलबाट अपेक्षाभन्दा बढी ऊर्जा पाएको बताए । नवीन चौहानको निर्देशन र पटकथामा आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको तथा पाँचथर र नेपाल–भारत सीमा फालेलुङ क्षेत्रमा छायांकन गरिएको यस फिल्मको सिनेमाटोग्राफी चिन्तन राजभण्डारी र सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गरिरहेको छ ।
बुटवलपछि टोली चितवन, पोखरा हुँदै पूर्वको विर्तामोडसम्म पुगेर मोफसल यात्रा समापन गर्ने योजनामा छ, जसअन्तर्गत स्थानीय पत्रकार, फिल्मप्रेमी र दर्शकमाझ विशेष शो तथा भेटघाट कार्यक्रम हुँदैछन् । चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन रश्मी श्रेष्ठसहित सञ्चारकर्मीले उक्त कार्यक्रममा कलाकारसँग अन्तरक्रिया गरेका थिए, जुन पत्रकार डि.बी. सुस्लिङको सञ्चालनमा र संघका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।