नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर दुई जनाको मृत्यु, तीन घाइते

by समतल अनलाइन
Shares

बुटवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७, चारपालमा शुक्रबार दिउँसो आएको हावाहुरीले ठुलो दुर्घटना निम्त्याएको छ। एक्कासी आएको हावाहुरी र वर्षाका कारण रुख ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा सुनवल–७ की करिब ३० वर्षीया मिरा बयम्बो र ३५ वर्षीय दुर्गाबहादुर पुन रहेका छन्। घटनास्थलमै पुगेका वडाध्यक्ष नारायण प्रसाद आचार्यले मृत्युको पुष्टि गरेका हुन्।

त्यसैगरी, सोही ठाउँका नर्मा परियार, दुर्गा खाम्चा र एक जना परिचय नखुलेका पुरुष घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि रुपन्देहीस्थित देवदह मेडिकल कलेज पठाइएको वडाध्यक्ष आचार्यले जानकारी दिए।

घटना शुक्रबार दिउँसो करिब साढे ३ बजे तिरको हो। ठूलो हावाहुरी र पानी परेपछि उनीहरू चारपालस्थित प्रतिक्षालयमा बसेका थिए। सोही समयमा नजिकैको रुख ढल्दा उनीहरू त्यसमा च्यापिएर घाइते र मृत भएका स्थानीयहरूले बताएका छन्।

स्थानीय प्रशासन र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। वडाध्यक्ष आचार्यले जनजिवन प्रभावित हुनेगरी आएको हावाहुरीका कारण थप जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

You may also like

This will close in 0 seconds