कपिलवस्तुको बुद्धभूमिमा सवारी दुर्घटना: दुई महिलाको ज्यान गयो

Shares

बुटवल।कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई महिलाको ज्यान गएको छ। गोरुसिङे–पत्थरकोट सडकखण्डमा बिहानको मर्निङ वाकमा निस्किएका उनीहरूलाई तीव्र गतिमा आएको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा ज्यान गएको हो।

प्रहरीका अनुसार बिहान करिब ५:४५ बजे पत्थरकोटबाट गोरुसिङेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले बाटो छेउमा हिँडिरहेका दुई महिलालाई ठक्कर दिएको थियो। दुर्घटनामा बुद्धभूमि–१ बसन्तपुरकी करिब ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझी गम्भीर घाइते भई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएका थिए। तर, बिहान ७:३० बजे चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा कारको अगाडिको भागले सीधै ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक दुवैजनाको टाउको र निधारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी पत्थरकोटबाट सई सन्तोष कुमार केसीको नेतृत्वमा २ जना र ईलाका प्रहरी कार्यालय गोरुसिङेबाट प्रहरी निरीक्षक विराट शर्मा पौडेलको नेतृत्वमा ११ जनाको टोली परिचालन गरिएको थियो।

दुर्घटनामा संलग्न कार र चालक प्रहरीको नियन्त्रणमा छन्। चालक ३२ वर्षीय खिमराज श्रेष्ठ रुपन्देहीको सैनामैना नगरपालिका–५ का हुन्। प्रहरीले मदिरा सेवन परीक्षण (मा.प.से.) गर्दा चालकले मदिरा सेवन नगरेको पुष्टि भएको जनाएको छ।

दुर्घटनास्थल प्रहरी चौकी पत्थरकोटबाट करिब ६ किलोमिटर दक्षिण पर्छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

You may also like

This will close in 0 seconds