बुटवल । बुटवल–भैरहवा सडकखण्डमा बिहीबार दुई छुट्टाछुट्टै कार दुर्घटनामा परेर चार जना घाइते भएका छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत सखुवानी नजिकै बा प्र ०१–०२९ च ८६०५ नम्बरको कार तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार उक्त कार सिधै विद्युतको पोलमा ठोक्किएर ‘लेन चेन्ज’ भई भैरहवातर्फको लेनमा पुगेको थियो। दुर्घटनामा कारका पार्टपूर्जा टाढा–टाढा छरिएको र गाडीको अगाडिको भाग विशेषगरी बम्पर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

उक्त कारमा सवार तीन जना घाइते भएका छन्। उनीहरूको परिचय खुलाइएको छैन भने अवस्था मध्यम रहेको र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
त्यसैदिन दिउँसो तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पताल अगाडि पनि अर्को कार दुर्घटना भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ३ च ४३८० नम्बरको कार अनियन्त्रित भई सडकछेउमा ठोक्किएको हो। दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–५ खैरेनीका ५० वर्षीय इन्द्रबहादुर सुनार घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार दुवै दुर्घटनाको मुख्य कारण तीव्र गति र गाडीको अनियन्त्रित अवस्था रहेको देखिएको छ। रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्थानीयबासीले बुटवल–भैरहवा सडकखण्डमा सवारीको चाप र गति नियन्त्रण नभएको भन्दै ट्राफिक व्यवस्थापन कडा बनाउन माग गरेका छन्।