काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले दुई–चार दिनभित्रै गभर्नर नियुक्ति हुने दावी गरेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका गुरुङले नियुक्तिमा अब तलमाथि नहुने बताए ।
‘अब तलमाथि नभइकन हामीले दुई–चार दिनभित्र नयाँ गभर्नर पाउँछौं,’ उनले भने । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारले चर्को आलोचना भइरहेको छ । सरकारले बजेट ल्याउन तयारी गरिरहँदा पनि महिना दिन बढी बितिसक्दा पनि गभर्नर नियुक्ति नगरेको भन्दै सरकारको आलोचना भइरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज मेरिटअनुसार गभर्नर नियुक्ति हुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’