संवैधानिक नियुक्ति विवाद : सर्वोच्चले तोक्यो फैसलाको मिति

Shares

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिविरुद्धको रिटमा यही जेठ २८ गते फैसला सुनाउने भएको छ। संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिमा विषयमा परेको रिटमाथि सुनुवाइ सकिए लगत्तै जेठ २८ का लागि निसु (निर्णय सुनाउने दिन) तोकिएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार संवैधानिक इजलासमा बिहीवार सुनुवाइ सकिएपछि जेठ १६ गतेभित्र बहस नोट पेश गर्न आदेश भएको छ।
निसु भने २८ गतेका लागि तोकिएको पाण्डेले जानकारी दिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा गत माघ ३० गते देखि हेर्दाहेर्दैमा राखी सुनुवाइ भइरहेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक गरी ५२ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरेका थिए । संसद् विघटन भएका बेला संसदीय सुनुवाइ नै नगरी नियुक्त भएका ती पदाधिकारीहरूको नियुक्ति गैरकानूनी तथा असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले रिट दायर गरेका थिए ।

You may also like

This will close in 0 seconds