बुटवलमा खसीको नाममा बाख्रीको मासु बेच्ने व्यापारी पक्राउ

Shares

बुटवल। खसी बोकाको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्रीको मासु बिक्री गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति बुटवल उपमहानगरपालिका–१, जितगढीका ३४ वर्षीय मेराज शाह हुन्। उनले विभिन्न स्थानबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर मासु पसलमा खसी बोकाको मासु भन्दै बिक्री गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शाहको घरमा छापा मार्दा बाख्री काटेर भुटाउँदै गरेको अवस्थामा टाउकोसहित २९ केजी मासु, तीन वटा बोरामा राखिएको ४१ केजी काटेको मासु तथा बाख्रीको विभिन्न अंगका टुक्रा बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए।

शाहमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सात दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

You may also like