नगेन्द्र केसी
शुद्धोदन। रुपन्देहीको शुद्धोदन गाउँपालिका–५, मानपकडीमा महाकल्प मकै पकेट सञ्चालन समन्वय समितिको आयोजनामा र शुद्धोदन गाउँपालिकाको सहकार्यमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोमबार शुद्धोदन कृषि सेवा शाखाको सभा हलमा आयोजना गरिएको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) मार्फत स्प्रेटंकी २० थान, २ एचपी मोटर २० थान, पम्पसेट ३ थान, डेलिभरी पाइप १५० किलो, हेड टेक्टर २ थान, विषादी औषधि लगायतका सामग्री वितरण गरिएको हो।
कार्यक्रम महाकल्प कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणि खरेलको अध्यक्षतामा भएको थियो भने शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल प्रमुख अतिथि हुनुहुन्थ्यो। अध्यक्ष बस्यालले कृषिमा आधुनिकीकरण र व्यवसायिकता ल्याउन यस्ता सामग्री सहयोग गरिएको भन्दै कृषकहरूलाई छिटो छरितो ढंगले काम गरेर उत्पादन वृद्धि गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नम्बर ५ का अध्यक्ष चन्द्रभान चौधरी, कृषि सेवा शाखा प्रमुख रमेश रेग्मी, सहर्ष सहकारी संस्थाका अध्यक्ष विष्णु गौतम, भगलापुर माविका व्यवस्थापन समितिका अध्यक्ष दिनेश शाहानी लगायतको उपस्थिति रहेको थियो।