राप्रपा कार्यालयमा ‘संयुक्त जनआन्दोलन समिति’ को बैठक : यस्ता छन् निर्णयहरु

Shares

काठमाडौं । आउँदो जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापनाका लागि हुने आन्दोलनलाई सफल बनाउन राजसंस्था पक्षधरहरूले विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेका छन्। आज (आइतबार) काठमाडौंमा बसेको राजसंस्था पक्षधर राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले आन्दोलनको पूर्व तयारीस्वरुप कार्यक्रमहरू सार्वजनिक गरेको हो।

बैठकले जेठ ६ गते संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला गर्ने, काठमाडौँ उपत्यकाका तीन जिल्लाका सर्वसाधारणलाई आन्दोलनमा सहभागी हुन आह्वान र जागृत गर्ने उद्देश्यका साथ जेठ ८, ९, १० र ११ गते काठमाडौँ उपत्यका जनजागरण यात्रा गर्ने निर्णय गरेको छ ।

यस्तै, यात्राको सुरुवात काठमाडौँको साँखुमा जेठ ८ गते गर्ने र जेठ ११ गते चाँगुनारायणमा समापन गर्ने तथा यो यात्राअन्तर्गत काठमाडौँ उपत्यकाका सबै १५ पालिकाभित्रमा महत्वपूर्ण स्थानहरूमा कोण सभाहरू गर्ने बैठकको निर्णय छ । संयुक्त जनआन्दोलन समितिमा आवद्ध दल, संघसंस्था, अभियन्ताहरुले आपसी समझदारीमा जेठ ७ गतेभित्र जिल्ला, पालिकाहरुमा ‘संयुक्त आन्दोलन समिति’ गठन गर्न आह्वान गर्ने पनि बैठकको निर्णय छ ।

यस्तै, जेठ १३ गते बृहत युवा स्वयंसेवक भेला गरिने छ । आन्दोलनमा काठमाडौँ बाहिरका जनताको व्यापक सहभागिता जुटाउने र त्यसका निम्ति अहिलेदेखि नै आवद्ध सबै दल, संघसंसथा र समूहहरूले आवश्यक तयारी गर्ने निर्णय भएको छ । ‘जेठ १५ गते काठमाडौँ जाउँ’ भन्ने नारासहित जनपरिचालन गरिने छ ।

बैठकले जेठ १५ गतेदेखि हुने आन्दोलन शान्तिपूर्ण हुने र त्यसको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थालाई आग्रह गर्ने समितिले जनाएको छ । आजको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेताहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीलगायत सहभागी थिए ।

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक पनि बसेको थियो । राजसंस्था पुनस्र्थापना, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीलगायत एजेण्डामा राजावादीहरूले ‘जनआन्दोलन’ गर्ने घोषणा गरेका हुन् ।

You may also like

This will close in 0 seconds