तिलोत्तमामा सम्पन्न भयो ‘दलित ज्ञान उत्सव’, सामाजिक न्याय र समावेशिताका पक्षमा आवाज

Shares

तिलोत्तमा।समानता, अधिकार र समावेशिताका पक्षमा दलित समुदायको आवाजलाई थप सशक्त बनाउने उद्देश्यले तिलोत्तमा नगरपालिकाले आयोजना गरेको ‘दलित ज्ञान उत्सव २०८२’ शनिबार दुई दिने कार्यक्रमका साथ सम्पन्न भएको छ।
शुक्रबारदेखि सुरु भएको उत्सवले बहस, विचार आदान–प्रदान, सृजनात्मक प्रस्तुति र सांस्कृतिक कार्यक्रममार्फत दलित समुदायका विषयमा समाजमा नयाँ चेतना जगाउने काम गर्‍यो।

तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न यस उत्सवमा नगर प्रमुख रामकृष्ण खाँणले लगातार दोस्रो वर्ष आयोजना गरिएको यो कार्यक्रम नगरपालिकाको “मानवताको सहर” बनाउने अभियानको अभिन्न हिस्सा भएको बताए।
उनका अनुसार, यस प्रकारका कार्यक्रमहरूले समुदायमा समावेशिता र सम्मानको भावना विकास गराउँछन्।

कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि रहेका लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले प्रदेश सरकारले छिट्टै दलित अधिकार ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिए।
उनले पछाडि पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउन जनप्रतिनिधि र सरकारको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै तिलोत्तमाको प्रयास अन्य स्थानीय तहले अनुकरण गर्न सक्ने बताए।

उत्सवका दौरान विभिन्न सत्रहरू सञ्चालन गरिए जहाँ दलित समुदायसँग सम्बन्धित विषयहरूमा गहिरो छलफल, प्रस्तुति र बहस गरियो।
शनिबार आयोजित ‘संघीयतामा दलित सवाल र प्रतिनिधित्व’ सत्रमा पूर्वमन्त्री मीन विश्वकर्मा, एमालेका प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी भए।
उनीहरूले संघीय प्रणालीले केही अवसर ल्याए पनि दलित समुदायको पहुँच अझै पनि अपुग रहेको औंल्याए।
सत्रको सहजीकरण पत्रकार विनोद परियारले गरेका थिए।

‘प्रशासनिक संयन्त्रमा समावेशिता’ सत्रमा पूर्वसचिव डा. मानबहादुर विक, प्रशासकीय अधिकृत नारायण अर्याल र रामचन्द्र अर्याल सहभागी भए।
यस सत्रमा प्रशासनमा दलितको सहभागिता बढाउन आवश्यक नीतिगत सुधारहरूबारे चर्चा गरियो।
सत्रको सहजीकरण पत्रकार सञ्जु पौडेलले गरेकी थिइन्।

‘स्थानीय सरकारमा दलितमैत्री बजेट’ विषयमा भएको सत्रमा बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल र अध्येता सुशील विके वक्ता थिए।
उनीहरूले स्थानीय तहमा दलितलाई लक्षित बजेट बनाउँदा सहभागिता र अनुगमनमा सुधार आवश्यक रहेको औंल्याए।
सत्र पत्रकार टंक सुनारले सञ्चालन गरेका थिए।

‘सामाजिक रूपान्तरणमा युवा’ सत्रमा अधिकारकर्मी सञ्जय निगम, सुभाष नेपाली र अध्येता गणेश श्रीपालीले युवाको सक्रिय भूमिका र नेतृत्व क्षमतालाई सामाजिक परिवर्तनको माध्यम बनाउनु पर्नेमा जोड दिए।

शुक्रबार, उत्सवको पहिलो दिन, “लुम्बिनी प्रदेशमा दलित सशक्तिकरण र राजनीतिक दलको भूमिका” विषयमा नेपाली कांग्रेसकी सचेतक जमुना ढकाल, एमालेका सचेतक तुलसी चौधरी र समाजिक विकास समितिका संयोजक यमबहादुर गैरे नेपालीबीच छलफल भएको थियो।

सत्रमा उनीहरूले दलित अधिकारप्रति राजनीतिक दलहरूको प्रतिबद्धता र कार्यान्वयनको अवस्था समिक्षा गरे।
सत्रको सहजीकरण पत्रकार अमृता अनमोलले गरेकी थिइन्।

त्यसैगरी, ‘राजनीतिक दल र दलित समावेशीकरण’ सत्रमा नेपाली कांग्रेस सभापति रामकृष्ण खाँण, एमाले अध्यक्ष यज्ञ गैरे र माओवादी केन्द्रका अध्यक्ष निर्मल जीसीबीच विचार आदान–प्रदान भयो। सत्रको सञ्चालन पत्रकार दिनेश पाण्डेयले गरे।

‘दलित र उद्यमशीलता’ सत्रमा उद्यमी जितु बौडेल, तारा सुनार र फणिन्द्र घेलेबीच संवाद भयो।
उनीहरूले आत्मनिर्भरता र आर्थिक सबलीकरण दलित सशक्तिकरणको मूलमन्त्र भएको बताए।
सत्रको सहजीकरण जीवन परियारले गरेका थिए।

उत्सवमा चित्रकला प्रदर्शनी, गीत–संगीत र नाटक मार्फत सामाजिक विभेद, उत्पीडन र अधिकारको मुद्दालाई प्रस्तुत गरियो।
युवाहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावशाली बनायो।

कार्यपालिका सदस्य रवि सेन्चुरीले उत्सवले दलित आत्मसम्मान र अधिकारप्रति चलिरहेको बहसलाई थप बलियो बनाएको बताए।
वन तथा वातावरण समितिका संयोजक सुरेन्द्र श्रीले उत्सवले सामाजिक रूपान्तरणमा सकारात्मक भूमिका खेलेको प्रतिक्रिया दिए।

उत्सवको औपचारिक उद्घाटन पूर्वमन्त्री तथा संघीय सांसद छविलाल विश्वकर्माले गरेका थिए।
उनले यस्तो कार्यक्रमले समाजमा परिवर्तन ल्याउने सम्भावनालाई जीवन्त बनाउने विश्वास व्यक्त गरे।

You may also like

This will close in 0 seconds