बुटवल । लुम्बिनी विकास कोषले २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह–२०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना हुने मूल समारोहको उद्घाटन गरिने कोषले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
कोषका सदस्य–सचिव सानुराज शाक्यका अनुसार वैशाख २८, २९ र ३० गते विशेष कार्यक्रमसहित बुद्धजयन्ती भव्यताका साथ मनाइनेछ। वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजे प्रार्थनासभा र बिहान ७ बजे कोषको ५ नं. गेटबाट विशेष शोभायात्रा सुरु हुनेछ।

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईका अनुसार बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रामग्राम, तिलौराकोट दरबार, कुदान र देवदहमा स्थानीय तहको समन्वयमा विविध कार्यक्रम आयोजना गरिनेछ। सरसफाइ अभियान, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, शान्ति ध्यान तथा प्रसूति उत्सव जस्ता कार्यक्रमसमेत हुनेछन्।
बुद्धको ज्ञानको महत्व उजागर गर्न वैशाख २९ गते साँझ देवदह, रामग्राम, कपिलवस्तु लगायतका क्षेत्रमा दीप प्रज्वलन गरिनेछ। त्यसको भोलिपल्ट वैशाख ३० गते नवजात राजकुमार सिद्धार्थको तिलौराकोट यात्रा अर्थात बोधिसत्व शोभायात्रा आयोजना गरिने जानकारी दिँदै भट्टराईले स्थानीयलाई सहभागी हुन आग्रह गरे।
करीब १ करोड रुपैयाँ बजेट अनुमान गरिएको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय तथा प्रदेश मन्त्रीहरू, लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री चेतनारायण आचार्य, सांसदहरू, कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी पाहुनाको उपस्थिति रहने कोषले जनाएको छ।
कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धजयन्ती तथा लुम्बिनी दिवसलाई विश्व शान्तिको सन्देश फैलाउने अवसरको रूपमा उपयोग गरिने जानकारी दिँदै भने, “आपसी द्वन्द्व, रोग, भोक र शोकले ग्रस्त यो संसारमा बुद्ध दर्शन नै एक मात्र विकल्प हो।” उनका अनुसार यो समारोहले नेपाललाई विश्व शान्तिको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।