नमस्ते नेपालले स्थापनाको १५ औं वार्षिकोत्सवको लोगो सार्वजनिक, लुम्बिनीमा भव्य कार्यक्रमको तयारी

Shares

सामाजिक संस्था ‘नमस्ते नेपाल’ले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा विशेष लोगो सार्वजनिक गरेको छ। जेठ १५ गते लुम्बिनीमा आयोजना हुने भव्य समारोहको पूर्वसन्ध्यामा आज एक कार्यक्रमबीच लोगो सार्वजनिक गरिएको हो।

सन् २०६८ सालमा स्थापना भएको संस्थाले यसपटकको स्थापना दिवस ‘विश्व शान्ति र युवा एकताको लागि दीप प्रज्वलन’ भन्ने नारासहित मनाउने तयारी गरेको छ। संस्थाका अध्यक्ष मनिश भुषालको अध्यक्षता र संस्थापक अध्यक्ष अर्जुन खरेलको प्रमुख आतिथ्यतामा तिलोत्तमामा सम्पन्न बैठकले कार्यक्रमको सम्पूर्ण व्यवस्थापनलाई प्रभावकारी बनाउन २५ वटा उपसमिति गठन गरेको छ।

कार्यक्रममा एक हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। देशभरिका युवासँगै ,सामाजिक अभियन्ता, विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ। कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने संस्थाले विश्वास लिएको छ।

नमस्ते नेपालले स्थापना कालदेखि नै सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, युवाको सशक्तिकरण, वातावरणीय सचेतना र पर्यटन प्रवर्द्धनजस्ता विविध क्षेत्रमा कार्य गर्दै आएको छ। विशेषगरी संस्थाले लुम्बिनीलाई विश्व शान्तिको सन्देश फैलाउने केन्द्रको रूपमा चिनाउन हालसम्म २० वटा देशमा विभिन्न प्रचारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थापनाको १५ औं वार्षिकोत्सवको कार्यक्रमले संस्थाको लक्ष्य, दृष्टिकोण र सामाजिक प्रतिबद्धतालाई अझ प्रष्ट र प्रभावशाली ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। साथै, यसले युवाबीच आपसी सहकार्य, राष्ट्रियता र सकारात्मक सोचको विकासमा टेवा पुर्‍याउने संस्थाको विश्वास छ।

You may also like

This will close in 0 seconds