पाल्पा–गुल्मीको रुरु क्षेत्रमा पहिलो पटक शालिग्राम महोत्सव, धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

Shares

गुल्मी र पाल्पाको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव सुरु गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचार–प्रसार गर्ने उद्देश्यले रुरु क्षेत्रस्थित ऋषिकेशव मन्दिरमा दुईदिने शालिग्राम महोत्सव आयोजना गरिएको हो।

महोत्सव तानसेन नगरपालिका (पाल्पा), रुरु क्षेत्र गाउँपालिका (गुल्मी), कालीगण्डकी गाउँपालिका (स्याङ्जा), तथा पर्यटन डिभिजन कार्यालय (रुपन्देही) को संयुक्त आयोजनामा, ऋषिकेश मन्दिर व्यवस्थापन समितिको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारबाट १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरिएको छ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उनले रुरु क्षेत्रलाई नेपालकै चार प्रमुख धार्मिक धाममध्ये एक भन्दै यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा परिभाषित गर्दै यस्ता महोत्सवहरू धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे।

शालिग्राम दिवसको अवसर पारेर आयोजित महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटन–मूलक कार्यक्रमहरू समावेश गरिएका छन्। ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईका अनुसार महोत्सवमा शालिग्रामको महत्व, प्रचार–प्रसार र संरक्षणसम्बन्धी जानकारी प्रदान गरिनेछ।

महोत्सवमा १००८ वटा शालिग्रामको पूजा, विक्रि–वितरण, ऋषिकेशवको रथयात्रा, धार्मिक झाँकी र्‍याली, भजन–कीर्तन, तथा कालीगण्डकीमा सन्ध्याकालीन आरती लगायतका कार्यक्रम समावेश छन्।

हिन्दू धर्मशास्त्रअनुसार शालिग्रामलाई भगवान विष्णुको शिला स्वरूप मानिन्छ। श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार, जब भगवान् विष्णुले जालन्धरकी पत्नी वृन्दाको पतिव्रता धर्म भंग गरेपछि वृन्दाले उनलाई “शिला बनून्” भन्ने श्राप दिएकी थिइन्, त्यसै कारण शालिग्राम स्वरूपमा रहनुपरेको मानिन्छ।

धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्वले भरिएको शालिग्रामप्रति भक्तजनको आकर्षण वर्षेनी बढ्दो छ। जनश्रुतिअनुसार, सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेशव भगवानको मूर्ति फेला पारेका थिए र सोही मूर्तिलाई आजको ऋषिकेशव मन्दिरमा प्रतिस्थापन गरिएको थियो। कालीगण्डकीमा स्नान तथा ऋषिकेशव, गायत्री माता र अन्य देवालयहरूको दर्शन गर्न वर्षेनी हजारौँ भक्तजन आउने गर्छन्।

You may also like

This will close in 0 seconds