बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवलले एक दिने लोकसेवा आयोग तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। चैतन्य एकेडेमी बुटवल शाखाको आयोजना तथा क्याम्पसको संयोजनमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई स्वदेशमै सरकारी सेवामा प्रवेश गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएको थियो।
कार्यक्रमको सभापतित्व क्याम्पस अतिरिक्त क्रियाकलाप समिति संयोजक तिर्थराज काफ्लेले गरेका थिए। प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईँ, विशिष्ट अतिथि सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल र रामनाथ उपाध्याय तथा प्रशिक्षकका रूपमा नेपाल सरकारका उपसचिव भविश्वर घिमिरेको उपस्थिति रहेको थियो।
क्याम्पस प्रमुख चापागाईँले पछिल्लो समयमा बिदेशिन खोज्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा देशमै स्वरोजगार र राष्ट्रसेवामा लाग्ने प्रेरणा दिन कार्यक्रम आयोजना गरिएको बताए। उनले क्याम्पसका धेरै पूर्व विद्यार्थीहरू हाल राष्ट्रसेवकका रूपमा उच्च पदमा कार्यरत रहेको जानकारी दिँदै हालका विद्यार्थीहरूले पनि अध्ययनसँगै लोकसेवा लगायतका परीक्षामा तयारीमा जुट्नुपर्नेमा जोड दिए।

प्रशिक्षक घिमिरेले सरकारी सेवामा नाम निकाल्न कठिन नभएको बताउँदै लगनशीलता, निरन्तर अभ्यास र सही रणनीतिले सफलता सम्भव हुने धारणा राखे। उनले देशमै संघर्ष गरेर सफलता हासिल गर्न सकिने उदाहरणहरू पनि प्रस्तुत गरे।
कार्यक्रम सञ्चालन चैतन्य एकेडेमी बुटवल शाखाका प्रमुख दीपक ढकालले गरेका थिए भने सम्पूर्ण जानकारी सिद्धार्थ गौतम बुद्ध क्याम्पसका उप–प्राध्यापक शेषकान्त अर्यालले दिनुभयो।