भारत र पाकिस्तानबीचको द्वन्द्व झनै चर्किएको छ। विहीबार बेलुकीदेखि दुई देशबीच सीमाक्षेत्रमा मिसाइल आक्रमण र प्रतिकार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सेनाका अनुसार, पाकिस्तानले जम्मु कश्मिरस्थित भारतीय सैन्य आधारमा मिसाइल प्रहार गरेको थियो, जसलाई भारतको एस–४०० डिफेन्स सिस्टमले निष्क्रिय पारेको हो। पाकिस्तानबाट प्रक्षेपण गरिएको एफ–१६ जेटमार्फत आएको ८ मिसाइलमध्ये सबैलाई भारतले विफल बनाएको दाबी गरिएको छ।
युद्धको माहोल तीव्र हुँदै जाँदा सीमाक्षेत्रमा त्रास फैलिएको छ। यसैबीच, धर्मशालामा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत पञ्जाब र दिल्लीबीचको खेल १०.१ ओभरपछि सुरक्षाको कारण देखाउँदै रद्द गरिएको छ। बीसीसीआईले परिस्थितिलाई ध्यानमा राख्दै खेल स्थगित गरिएको जानकारी दिएको छ।
भारतले पाकिस्तानमाथि हवाई कारबाही सुरु गरेको छ, जुन पहलगाममा भएको आतंकवादी आक्रमणपछि आरम्भ गरिएको हो। उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जना पर्यटकको मृत्यु भएको थियो। जवाफी कारबाहीस्वरूप भारतले पाकिस्तानको ९ स्थानमा हवाई आक्रमण गरी आतंकवादी संरचनालाई ध्वस्त पारेको दाबी गरेको छ। ती आक्रमणमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको बताइएको छ।