अत्यन्त व्यस्त गायिका सम्झना रणपालको स्वरमा सजिएको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ हालै सार्वजनिक भएसँगै बजारमा चर्चा कमाउन थालेको छ। छोटो समयमै युट्युब र टिकटकमा दर्शकको मन जित्न सफल बनेको गीतले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेको छ।
गायिका सम्झना रणपालले छड्के टिमसँग कुरा गर्दै दर्शकले दिएको माया र प्रतिक्रियाले आफू उत्साहित भएको बताइन्। “गीत सार्वजनिक भएको केही दिनमै यति धेरै माया पाइयो भन्ने विश्वास थिएन,” उनले भनिन्, “टिकटकमा टुक्काहरू भाइरल भइरहेका छन्, यो कलाकारका लागि ठूलो हौसला हो।”
कुशाल बेलबासे, रेशम निर्दोष, सम्झना रणपाल र बिधान कार्कीको सशक्त स्वर रहेको गीतमा शिव हमालको शब्द रचना र बिधान कार्कीकै संगीत सुन्न सकिन्छ। भिडियो सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतले नेपाली मौलिकता, परम्परागत पञ्चेबाजा र लोकधुनको संयोजनमार्फत जनजीवनका भावनालाई उजागर गर्ने प्रयास गरेको छ।
गीतका चर्चित टुक्काहरू—
“अन्तै घरबार जोड भनौली, भैगो मलाई छोड भनौली।
पिर बिसाउने चौतारी हौ मेरो,
जिवन काट्ने दौतरी हौ मेरो।”
—सहितका मार्मिक पंक्तिहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन्।
भिडियोमा अनिल पौडेल र सृष्टि रनपालको मुख्य अभिनय रहेको छ, जसले कथावस्तुलाई दृश्यरूपमा सजीव बनाएका छन्। नेपाली गाउँले परिवेश, विवाह संस्कार र प्रेमका भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोलाई दर्शकहरूले रुचाइरहेका छन्।
संगीत विश्लेषकहरूका अनुसार, ‘मन मान्दैन’ नेपाली लोकसंगीतमा प्रेम, संस्कार, र संस्कृति जोड्ने अर्को महत्वपूर्ण कोसेढुंगा बन्ने सम्भावना देखिन्छ।