“विभेदमुक्त नगर” बनाउने अभियानसहित तिलोत्तमामा दलित ज्ञान उत्सव

Shares

दलित समुदायको पहिचान, संघर्ष र योगदानलाई उजागर गर्दै सामाजिक समानताको सन्देश फैलाउने उद्देश्यले रूपन्देहीको तिलोत्तमामा ‘दलित ज्ञान उत्सव २०८२’ आयोजना हुने भएको छ। वैशाख २६ र २७ गते तिलोत्तमा-१०, नयाँमिलस्थित होटल स्वानमा हुने यो दुई दिने कार्यक्रम दलित र गैरदलित सबैको सहभागितामा सम्पन्न हुने आयोजकले जनाएका छन्।

उक्त उत्सवमार्फत दलित समुदायको इतिहास, बौद्धिकता, विज्ञान, सृजनशीलता, संघर्ष र सफलताको कथा समाजसामु ल्याइनेछ। साथै जातीय समानता र सामाजिक एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।

तिलोत्तमा नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमामा करिब ११ प्रतिशत दलित जनसंख्या रहेको उल्लेख गर्दै “विभेदमुक्त नगर, समानता युक्त नगर” भन्ने नारासहित नीति तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले समाजमा रहेको विभेद कम गर्ने विश्वाससहित उत्सवको आयोजना गरिएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उत्सवमा उद्यमशीलता, सेवा, प्रशासन र समावेशिताका विषयमा विशेष जोड दिइने जानकारी दिनुभयो। नगर प्रवक्ता सुरेन्द्र श्रीले जातीय विभेद अन्त्य गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो।

उत्सवको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले गर्नुहुनेछ भने समापन लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमल्सिनाले गर्नुहुनेछ।

कार्यक्रममा ११ वटा सेसन सञ्चालन हुनेछन्। तीमध्ये ४ वटा सेसन साहित्यतर्फ केन्द्रित हुनेछन्, जसमा चित्रकला, कविता वाचन, गीत–संगीतजस्ता कार्यक्रम समावेश गरिनेछ। बाँकी ७ वटा सेसनमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिज्ञ, संघ–संस्था तथा विभिन्न क्षेत्रका विज्ञहरू र सरोकारवालाबीच गहन छलफल गरिनेछ।

दलित समुदायले विगतदेखि सामाजिक, आर्थिक र सांस्कृतिक असमानताको सामना गर्दै आएको पृष्ठभूमिमा यो उत्सव ज्ञानमार्फत विभेद अन्त्य र सामाजिक समानता स्थापनातर्फ एक सार्थक पहल हुने आयोजकहरूको विश्वास छ।

You may also like