गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना

Shares

बुटवल ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउन माग गर्दै उद्योग वाणिज्य संगठन रूपन्देही (चेम्बर अफ कमर्श) को अगुवाइमा विभिन्न संघ–संस्थाले विमानस्थलको मूख्य गेटमा धर्ना दिएका छन्।

धर्नामा सहभागी व्यवसायी तथा संस्थाका प्रतिनिधिहरूले प्लेकार्ड र ब्यानरसहित उपस्थित भई सरकारको ढिलासुस्तीप्रति आक्रोश पोखेका थिए। उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि व्यवसायीहरूले लगानी गरेको तर सरकारले गम्भीरता नदेखाएको आरोप लगाए।

चेम्बर अफ कमर्श रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल पटक–पटक बन्द र पुनः सञ्चालन हुँदा सर्वसाधारण र व्यवसायीमा असन्तोष बढेको बताए। ज्ञापनपत्र बाचन गर्दै उनले भने, “विमानस्थलको स्थायी सञ्चालनका लागि पर्यटन प्याकेज, स्वास्थ्य सेवा, मेडिकल स्वीकृति लगायतका आवश्यक काम तत्काल अघि बढाइयोस्। आन्तरिक उडान नियमित गरियोस् र सबै समस्याको समाधान गरियोस्।”

श्रेष्ठले विमानस्थल महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउन खोज्दा उनले व्यवसायीको आग्रहलाई बेवास्ता गरेको गुनासो गरे। “प्रमुख जिल्ला अधिकारीले गेटमै पत्र लिइदिनुभयो तर महाप्रबन्धकले हामीलाई उपेक्षा गर्नुभयो,” उनले भने।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोख्रेलले व्यवसायीहरूले अरबौं रुपैयाँ लगानी गर्दा पनि राज्यको गैरजिम्मेवारीपनले अब्बल योजना अलपत्र परेको बताए। “हामी सदैव विमानस्थल चलोस् भन्ने चाहन्छौं, तर सरकारले नै चलाउन नसकेर लगानीकर्ताको मनोबल तोडिएको छ,” उनले भने।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्र बारम्बार आन्दोलनमा उत्रिए पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थलप्रति ध्यान नदिएको आरोप लगाए। उनले भने, “राज्यले आफ्नै विमान पनि राम्ररी चलाउन सक्दैन, हामीलाई मात्र दोष लगाएर केही हुँदैन। अब सबै संघ–संस्था एकजुट भएर निर्णायक आन्दोलनमा जानु पर्छ।”

सिद्धार्थनगर सहकारी सञ्जालका अध्यक्ष कुलप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा संघीयताको भावना नहुनु मुख्य समस्या भएको बताए। “अब सबै नागरिक मिलेर संयुक्त आन्दोलन गर्नुपर्छ,” उनले जोड दिए।

सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले श्रम स्वीकृति, स्वास्थ्य कार्यालयजस्ता पूर्वाधार स्थापना गरिने सहमति भए पनि कार्यान्वयन नहुनु लज्जास्पद रहेको बताए।

चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारीले सरकारले निजी क्षेत्रलाई लगानी गर्न प्रेरित गरेको भए पनि अहिले उनीहरूको लगानी डुब्ने अवस्थामा पुगेको बताए। उनले संसदसम्म विमानस्थललाई ‘कमिशन खाने माध्यम’ भनेर आलोचना भइरहेको उल्लेख गरे।

लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ताले विमानस्थल सञ्चालनमा अवरोध गर्ने नेताहरूको बिरुद्धमा सडक आन्दोलन चर्काउनुपर्ने धारणा राखे। “अब कडा संघर्षबाट मात्र समस्याको समाधान हुन्छ,” उनले भने।

You may also like