श्रवण–दृष्टिविहीनताको यथार्थ र शिक्षाको पहुँचबारे बुटवलमा छलफल

Shares

बुटवल।श्रवण र दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले बुटवलमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा आज आइतबार सम्पन्न कार्यक्रममा श्रवण–दृष्टिविहीन अपांगता भएका व्यक्ति, तिनका अभिभावक, सामाजिक संघसंस्था र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महासंघका कार्यक्रम संयोजक शंकर सिंह चैसिरले संस्थाको काम, कार्यक्रमको प्रभाव, श्रवण–दृष्टिविहीन अपांगता भएकाहरूको अवस्था, पहिचानको चुनौती र समावेशी शिक्षामा सबैको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।

उहाँले श्रवण–दृष्टिविहीनता जन्मजात कसरी हुन्छ, लक्षण कसरी थाहा पाइन्छ भन्ने विषयमा पनि जानकारी दिनुभयो। रुपन्देही जिल्लामा सञ्चालनमा ल्याइएका कार्यक्रमबारे पनि जानकारी गराइएको थियो।

जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा १,८६१ जना र रुपन्देहीमा २१६ जना श्रवण–दृष्टिविहीन व्यक्ति छन्। तर कार्यक्रममा सहभागीहरूले यथार्थमा यो संख्या अझ धेरै हुन सक्ने बताए।

सही तथ्यांकको अभावमा योजनाहरू असरदार बन्न नसकेको भन्दै स्थानीय तहहरूले श्रवण–दृष्टिविहीन व्यक्तिको पहिचानमा ध्यान दिनुपर्नेमा जोड दिइयो।

राष्ट्रिय बहिरा महासंघ नेपालसहित चार संस्थाको सहकार्यमा, नेपाल नेत्रहीन संघ रुपन्देहीको पहलमा सन् २०१९ देखि तिलोत्तमाको मणिग्राममा रहेको शान्ति नमुना विद्यालयमा श्रवण–दृष्टिविहीन श्रोत केन्द्र सञ्चालनमा ल्याइएको छ।

उक्त केन्द्रमा अभिभावकहरूले आफ्ना बालबालिकालाई ल्याएर आवश्यक ज्ञान, सिप र संचार सिकाउन सक्छन्। पछि बालबालिकालाई ब्रेल, सांकेतिक भाषा, सहयोगी शिक्षकसहित आवश्यक सामग्री दिई निःशुल्क रुपमा पढाइन्छ।

तर, चेतनाको कमी र स्थानीय पालिकाको सुस्त सक्रियताका कारण समावेशी शिक्षा सबै बालबालिकाको पहुँचमा पुग्न सकेको छैन। त्यसैले आगामी दिनमा सञ्चारका माध्यमबाट आममानिसमा जनचेतना फैलाउनुपर्नेमा अपांगता राष्ट्रिय निर्देशन समितिकी सदस्य साबित्रा घिमिरेले जोड दिनुभयो।

You may also like