भिमसेन नेवा: समाजको १५ औं स्थापना दिवस बुटवलमा भव्य रूपमा सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल। भिमसेन नेवा: समाज र भिमसेन नेवा: मयजु समाजको १५औं स्थापना दिवस शनिबार बुटवल–३, ज्योतिनगरमा भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल प्रमुख अतिथि रहनुभएको थियो। उहाँले समाजले महिलालाई स्वरोजगार बनाउने, मठ–मन्दिरको संरक्षण गर्ने, र नेवा: कला–संस्कृति जोगाउने तीनवटा महत्वपूर्ण काममा सक्रियता देखाएको बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि बुटवल–३ का वडा अध्यक्ष विष्णु ढकालले गाईजात्रामा सार्वजनिक बिदा दिनुपर्ने आवश्यकता औँल्याउँदै भाषा संरक्षणका लागि साइपाटाको रोटी बनाउने तालिम जस्ता कार्यक्रम थप आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेवा: समाजका वर्तमान अध्यक्ष शहदेव श्रेष्ठले भने “हामीले विगत १५ वर्षदेखि समुदायको पहिचान जोगाउने र नेवा: संस्कृतिको समृद्धिको लागि काम गर्दै आएका छौँ। अबको प्राथमिकता भनेको भिमसेन मन्दिरको निर्माण हो, जसले हाम्रो सांस्कृतिक आत्मालाई अझ मजबुत बनाउनेछ। समाजले महिला, बालबालिका र युवालाई लक्षित गरेर विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। सबैको साथ र सहयोगले यो अभियान अझ सशक्त बनाउनेछ।”

श्रेष्ठले नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति र चाडपर्वसँग जोड्ने अभियानमा समाजले विभिन्न तालिम, प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी पनि दिनुभयो।

कार्यक्रममा वरिष्ठ नागरिक गणेश प्रसाद थैव र गणेश कुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो। उनीहरूलाई समुदायप्रतिको योगदानका लागि विशेष सम्मान प्रदान गरिएको हो। साथै, एकल महिला समूहकी अध्यक्षले पनि महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने अभियानबारे बोल्नुभयो ।

नेवा: बुटवल नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्दै भावी पुस्तालाई संस्कृति चिनाउने गरी भिमसेन मन्दिर निर्माण गरिने जानकारी दिनुभयो। कार्यक्रममा नेवा: समाजको वार्षिक क्यालेन्डर विमोचन पनि गरिएको थियो, जसमा नेवा: समुदायका पर्व, परम्परा र महत्वपूर्ण तिथिहरू समेटिएका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार लिला प्रसाद श्रेष्ठ, नेवा: पुचका अध्यक्ष काजिमान श्रेष्ठ, नेवा देय दबु लुम्बिनी प्रदेशका अध्यक्ष बाबुराम श्रेष्ठ, चन्द्र प्रकाश श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख तथा भिमसेन सेवा समाजका सल्लाहकार बिमल बहादुर शाक्य लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रम सञ्चालन महासचिव विष्णु श्रेष्ठले गरेका थिए। आयोजकले नेवा: समाज २०५६ सालदेखि निरन्तर क्रियाशील रहँदै आएको र सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको जनाउनु भतोव्र्‍र।

नेवा: समुदायको अभियान केवल परम्परा जोगाउने नभई भविष्यलाई समृद्ध बनाउने हो भन्ने सन्देश कार्यक्रमभरि दिइएको थियो। ‘नेपाल संवत् सबै नेपालीको साझा सम्पत्ति हो’ भन्ने अभिव्यक्तिले सम्पूर्ण समुदायलाई जोड्ने प्रयास भएको स्पष्ट देखिन्थ्यो।

You may also like