बुटवल। बुटवल गोलपार्कमा रहेको बुटवल कम्प्युटर इन्स्टिच्युटले नेपाली सेनाको सेवा प्रवेश परीक्षामा सफलता प्राप्त गरेका ३७ जना युवाहरूलाई सम्मान गरेको छ। शनिबार इन्स्टिच्युटकै प्रांगणमा विशेष कार्यक्रम गरेर उनीहरूलाई खादा, मायाको चिनो सहित सम्मान गरिएको हो।

कार्यक्रम संस्थाका सञ्चालक तथा प्रवन्ध निर्देशक दिपक केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रशिक्षक, पूर्व सैनिक, अभिभावक, सफल प्रशिक्षार्थी र अन्य विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
सञ्चालक दिपक केसीले सफल भएका सबैलाई बधाई दिँदै भने, “हाम्रो प्रयास, शिक्षकहरूको मिहिनेत र विद्यार्थीहरूको लगनले यस्तो राम्रो नतिजा आएको हो। हामी विद्यार्थीहरूलाई केवल तयारी मात्र गराउँदैनौं, उनीहरूको भविष्य सुरक्षित बनाउन सधैं साथ दिन्छौं। हामी चाहन्छौं आजको दिनमा सेनामा नाम निकाल्ने हाम्रा विद्यार्थीहरू एकदिन सेना प्रमुखसम्म पुगून्।”
इन्स्टिच्युटले सेनासँगै प्रहरी, लोकसेवा, शिक्षक सेवा, कम्प्युटर तालिम र ट्युसन क्लासहरू पनि सञ्चालन गर्दै आएको छ। सफल भएका धेरै विद्यार्थीहरू यसै इन्स्टिच्युटमा नियमित कक्षा लिने, अभ्यास गर्ने र प्रशिक्षकसँग सल्लाह लिएर तयारी गरेका थिए।
कार्यक्रममा प्रशिक्षक संयोजक अंकित गिरीले पनि बोले। उनले भने, “हाम्रो टिमले दिनरात मिहिनेत गरेर पढाएको थियो। विद्यार्थीहरूले पनि मन लगाएर पढे। त्यसैले लगभग सबैजना पास भएका छन्। हामी उनीहरूको सफल भविष्यको कामना गर्छौं।”
अन्य प्रशिक्षक पुरुषोत्तम ज्ञवाली, सुनिल नेपाली र देव न्यौपानेले पनि आफ्ना भनाइ राखे। उनीहरूले सफलताको श्रेय विद्यार्थीको मेहनत र इन्स्टिच्युटको उचित तालिम पद्धतिलाई दिएको बताए। पूर्व नेपाली सैनिक केशव खड्काले भने, “सेनाको पोशाक लगाउनु मात्र ठूलो कुरा होइन, त्यसको जिम्मेवारी पनि ठुलो हुन्छ। देशको सेवा इमानदारीपूर्वक गर्नुहोस्।”
कार्यक्रममा नेपाली सेनामा नाम निकाल्न सफल सूर्य प्रकाश शाही, अञ्जु शाही, सुरज परियार, अभिनाश थापा, सुनिल परियार लगायतले आफ्नो अनुभव सुनाए। उनीहरूले तालिमको समय, पढाइको तरीका, आएको कठिनाइ र अन्तिममा सफलता पाउँदाको खुसी बारेमा बोले।
सफल प्रशिक्षार्थी गोरख केबटले भने, “म मधेसी समुदायबाट आएको हुँ। सुरुमा डर लाग्थ्यो तर तालिमले आत्मबल बढायो। आज सफल हुन पाउँदा मलाई मात्र होइन, मेरो परिवार र समुदायलाई पनि गर्व लागेको छ।” अर्का प्रशिक्षार्थी येनबहादुर गाहा आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै सफल भएका थिए। उनले भने, “हामी जस्तो समुदायका युवाहरूले पनि अवसर पाउँदा आफूलाई गौरवान्वित महसुस भएको छ।”
कार्यक्रममा प्रतीक्षक सुनिल परियारले भने, “देशको सेवा गर्नु भनेको केवल जागिर होइन, यो ठूलो जिम्मेवारी हो। सबैले इमानदारी र समर्पणसाथ काम गर्नुपर्छ।”
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई खाजा वितरण गरिएको थियो। बुटवल कम्प्युटर इन्स्टिच्युटले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि गर्दै जाने जनाएको छ। सहभागीहरूले यस्तो कार्यक्रमले सबै समुदायका युवालाई प्रेरणा र आत्मबल दिने बताए।




