काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । देशका पश्चिमी भू–भागमा पानी परिरहेको छ । पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै पूर्वतिर सरिरहेको छ । जल तथा मौसम विज्ञान विभागले पानी पार्ने बादल पश्चिमबाट लुम्बिनी प्रदेशतिर सरिरहेको जनाएको छ ।
आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
साथै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । ‘मेघगर्जन/चट्याङ्गसहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेकाले अझै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु होला,’ विभागले भनेको छ ।