विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छ : महासचिव पोखरेल

Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले एमालेले ल्याएको विकासको अवधारणले नै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका हुन्।

‘एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिबबीचको खाडल पुरिएको छ, हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौं’, उनले भने । मुलुकको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवि वर्गको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले श्रमजीवि वर्गलाई सङ्गठित गर्ने र उनीहरुलाई अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको बताए । ‘जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवि वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको छ’, महासचिव पोखरेलले भने ।

एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको उनको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोचभन्दा फरक रहेका समेत उनले उल्लेख गरे । महासचिव पोखरेलले देशमा सोचे जस्तो विकास हुन नसकेको उल्लेख गर्दै विदेश जाने युवालाई रोकेर मुलुकको उत्पादनमुलक क्षेत्रमा आबद्ध गराउनुपर्ने धारणा राखे । ‘प्रतिगामी मण्डलेहरूले परिवर्तनप्रति अनास्था पैदा गर्ने काम गरिहरेका छन्’, महासचिव पोखरेलले भने, ‘त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्छ, मुलुकको समृद्ध लोकतन्त्रको रूपमा विकास गर्नुपर्छ ।’

You may also like