बुटवल उपमहानगरको नमूना कार्यक्रम: ३० श्रमिक महिलालाई नगद सम्मान

Shares

बुटवल।अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को पूर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले आर्थिक रूपमा कमजोर तर परिश्रमी महिलाहरूको सम्मान गर्दै एक विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम अन्तर्गत सालको पात बेच्ने, मकै पोल्ने र ई-रिक्सा चलाउने श्रमिक महिलाहरूलाई सम्मानपत्र र नगद सहयोग प्रदान गरिएको हो।

बुटवल उपमहानगरपालिका–७ स्थित नगर सभाहलमा सम्पन्न उक्त कार्यक्रममा उपमहानगरका प्रमुख खेलराज पाण्डे र उप–प्रमुख सावित्रीदेवी अर्यालले संयुक्त रूपमा महिलाहरूलाई नगद १०–१० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे। प्रत्येक क्षेत्रमा १० जनाका दरले कुल ३० जना महिलाहरू सम्मानित भएका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले भने, “हामीले देखिरहेका यस्ता श्रमिक महिलाहरू दिनरातको मेहनतबाट न केवल आफ्ना परिवारको जिविका चलाइरहेका छन्, उनीहरूले समाजमा पनि सन्देश दिएका छन् कि मेहनत र इमान्दारिता नै असली शक्ति हो। यो सम्मान सानो जस्तो देखिए पनि उनीहरूको संघर्षप्रति कदर र प्रेरणा हो।”

त्यस्तै उप–प्रमुख सावित्रीदेवी अर्यालले भनिन्, “महिलाहरूलाई आत्मनिर्भर बनाउने हाम्रो प्रतिबद्धता हो। सहरका कुनाकाप्चामा आफ्नो मेहनत बेचेर जीवन धानिरहेका यी महिलाहरूको योगदानलाई नगर सरकारले सदैव सम्मान गर्नेछ। यस्ता सम्मान कार्यक्रमले उनीहरूमा आत्मविश्वास बढाउँछ।”

कार्यक्रममा सहभागी महिलाहरूले आफूहरूको मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्तो सम्मानले आफूहरूलाई अझ प्रेरित बनाएको र भविष्यमा पनि अझ दृढताका साथ काम गर्न हौसला मिलेको बताए।

बुटवल उपमहानगरपालिकाले आगामी दिनहरूमा पनि श्रमिक वर्गलाई लक्षित गर्दै सीप विकास, आय–आर्जन र सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिएको छ।

You may also like