वडाध्यक्ष पौडेलको नेतृत्वमा तिलोत्तमा–३ मा बहुआयामिक विकास

Shares

बुटवल । तिलोत्तमा नगरपालिका–३ का वडाध्यक्ष कल्याण पौडेलले आफ्नो कार्यकालमा वडा नम्बर ३ मा भौतिक विकाससँगै सामाजिक र मानवीय पक्षलाई पनि प्राथमिकता दिनुभएको छ। उहाँका अनुसार चालु आर्थिक वर्षमा वडाले कुल ५६ वटा योजना अघि सारेको छ, जसमध्ये २८ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी योजना सम्पन्न गर्ने काम तीव्र रूपमा अघि बढिरहेको छ।

वडाध्यक्ष पौडेलका अनुसार वडामा सडक, नाला, खानेपानी, विद्युत लगायतका पूर्वाधार निर्माणका कामहरू भइरहेको छ। तर उहाँको विशेष ध्यान सामाजिक विकासतर्फ पनि मोडिएको छ। उहाँले भन्नुभयो, “अब विकास भनेको मात्र पक्की सडक बनाउनु होइन, जनताको जीवनशैली, सोच, स्वास्थ्य र सीपमा सुधार ल्याउनु पनि विकास हो।”

महिला सशक्तिकरणका लागि भान्सा सुधार तालिम, मादल तालिम, योग कक्षा, आमा समूह लक्षित कार्यक्रमहरू र जनजाति समुदायका लागि बारिस्ता तालिमजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउन र स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुगेको छ।

कृषि क्षेत्रमा वडाले बीउबिजन वितरण, तालिम तथा प्रविधि सहयोगमार्फत कृषकहरूलाई सहयोग पुर्‍याएको छ। यसले उत्पादन वृद्धि र आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्रमा पनि सुधार गरिएको छ। वडामा रहेको सगरमाथा विद्यालय, जहाँ पहिले तीन कक्षासम्म मात्रै पढाइ हुन्थ्यो, हाल पाँच कक्षासम्म विस्तार गरिएको छ। सुनौलो सिमानगरमा रहेको अर्को विद्यालयमा चार कोठे भवन निर्माण भइरहेको छ।

सार्वजनिक संरचनाको सन्दर्भमा वडाध्यक्ष पौडेलले भन्नुभयो, “वडामा सार्वजनिक जग्गा अत्यन्त सीमित भएकाले ठूला पार्क निर्माण गर्न सकिने अवस्था छैन। तर जहाँ सम्भव छ, त्यहाँ साना पार्कहरू बनाइएको छ, जसले स्थानीयलाई विश्राम गर्न सहज बनाएको छ।”

वडाभित्र मुख्य स्थानहरूमा सार्वजनिक शौचालय निर्माण गरिएको छ। यात्रुहरूलाई सहजता होस् भनेर केही स्थानमा निःशुल्क पिउने पानीको मेसिनसमेत जडान गरिएको छ। उहाँले भन्नुभयो, “सबैसँग पैसा हुने अवस्था हुँदैन। त्यसैले बाटोमा हिँड्दा प्यास लाग्दा पानी किन्न नसक्नेको लागि यस्ता सुविधा उपलब्ध गराइएको हो।”

वडाको चालु आर्थिक वर्षको कुल बजेट १ करोड ८ लाख रुपैयाँ रहेको छ। केन्द्र सरकारबाट ५० लाख र प्रदेश सरकारबाट करिब ४ करोड रुपैयाँका योजनाहरू वडामा सञ्चालन भएका छन्। तीमध्ये अधिकांश रकम विकास योजनामा खर्च भइसकेको छ भने बाँकी योजनाहरू पनि यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

वडाध्यक्ष पौडेलले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर बजेट ल्याउनुभएको जानकारी दिनुभयो। उहाँले स्थानीय नेताहरू, कर्मचारी र सरोकारवालासँग पटक–पटक छलफल गर्दै वडाको आवश्यकता प्रस्तुत गरी बजेट सुनिश्चित गर्न भूमिका निर्वाह गर्नुभएको हो।

विकास योजनामा पारदर्शिता कायम गरिएको भन्दै उहाँले जनप्रतिनिधि, उपभोक्ता समिति र स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गरेर योजना सञ्चालन गरिएको बताउनुभयो। “हामीले महिला, युवा, किसान, जनजाति सबैको सहभागितामा योजना सञ्चालन गरेका छौं,” उहाँले भन्नुभयो।

कार्यकालको अन्त्यतिर रहेका योजनाहरू समयमै सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउँदै वडाध्यक्ष पौडेलले भन्नुभयो, “अब काम समयमै सकिन्छ। विकासका लागि बजेट मात्रै होइन, इमान्दारिता पनि आवश्यक छ।”

वडाध्यक्ष पौडेलले भन्नुभयो, “विकास त भइरहेकै छ। तर अहिलेको समय इमान्दारी र जिम्मेवारीपूर्वक काम गर्नुपर्ने हो। हामी सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य पूरा गर्न सके देश नै समृद्धितर्फ अघि बढ्छ।”

You may also like