बुटवल। “रक्तदान जीवनदान” भन्ने नारासहित बुटवलमा सोसल ग्रुप बुटवलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय बुटवल क्षेत्रमा रगत अभाव देखिएपछि तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो।
सोमबार बुटवल रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा ६० जना स्वयंसेवीले रक्तदान गरेका छन्। कार्यक्रमबारे जानकारी दिँदै सोसल ग्रुपका अध्यक्ष भोजबहादुर थापाले बुटवलमा बढ्दो रक्त अभावका कारण रक्त सञ्चार केन्द्रको आग्रहमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
सोसल ग्रुपका सचिव अशोक राईका अनुसार हाल बुटवल रक्त सञ्चार केन्द्रमा A+, B+, AB+ समूहका रगतको अभाव देखिएको छ। “बिरामीहरूको चापसँगै रगतको माग बढेकोले आकस्मिक रक्तदान कार्यक्रम गरेर समस्या समाधान गर्न प्रयास गरिएको हो,” सचिव राईले बताए।
यस्तै, सोसल ग्रुपका उपाध्यक्ष विन्नु थापाले संस्थाले विगतदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी गराए। “हामीले रक्तदान कार्यक्रम, सडक डिभाइडरमा वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारलाई खाद्यान्न वितरणजस्ता गतिविधि गर्दै आएका छौं,” उनले भने।
रक्त सञ्चार केन्द्र बुटवल शाखाले पनि हाल रक्त आपूर्ति सामान्य अवस्थामा ल्याउनका लागि निरन्तर रक्तदान कार्यक्रम आवश्यक रहेको जनाएको छ।