सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने

Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिएका हुन् ।

‘१९ गते नीति तथा कार्यक्रम हामी पेस गर्छौ,’ ओलीले बैठकमा भने, ‘२० गते हामी संसदीय दलको बैठक बस्छौं । त्यस दिन हामी १९ गते पेस भएको नीति तथा कार्यक्रम सम्बन्धमा दलका नेताहरु र विज्ञहरु समेतबाट पनि फिडब्याक लिन्छौं।’ नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट बनाउने गर्दछ । प्रत्येक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत हुन्छ ।

‘सरकारले सन्तुलित नीति तथा कार्यक्रम र बजेट ल्याउँछ’
प्रधानमन्त्री ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बताएका छन् । उनले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला पार्टी मिलेको बताए ।

उनले भने, ‘मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’

संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा भएको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरे ।

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको सन्दर्भमा अध्यक्ष ओलीले यस्ता कार्यप्रति तेज तराजरुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुन बमोजिम कडा कदम पनि चाल्न सक्ने संकेत गरे ।

You may also like

This will close in 0 seconds