मणिमुकुन्द भलिबल कपको उपाधिका लागि गल्कोट र भारतको साग भिड्ने

by समतल अनलाइन
92Shares

तिलोत्तमा। तिलोत्तमामा जारी दसौं मणिमुकुन्द भलिबल कप पुरुष इन्डो–नेपाल क्लब च्याम्पियनसिपको उपाधिका लागि गल्कोट भलिबल क्लब र भारतको साग भलिबल एकेडेमी गुजरातबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा भारतको साग एकेडेमीले गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। गण्डकीले पहिलो सेट २५–२१ मा जितेको थियो तर त्यसपछिका तीन सेट सागले २५–२०, २९–२७ र २५–१७ मा जित्दै उपाधि दाबेदारी पक्का गर्‍यो। सो खेलमा सागका सुरज चौधरी ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

दोस्रो सेमीफाइनलमा गल्कोट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो। गल्कोटले पहिलो सेट २५–१८ मा जितेको थियो। दोस्रो सेटमा आर्मीले २५–२३ को जित निकाल्दै बराबरी गर्‍यो। तर त्यसपछि गल्कोटले २५–१४ र २५–२२ मा लगातार दुई सेट जितेर फाइनल स्थान सुनिश्चित गर्‍यो। अमिर सेरागत ‘प्लेयर अफ दी म्याच’ बने।

फाइनल खेल शनिबार साँझ हुनेछ भने तेस्रो स्थानको लागि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमलाई रु २ लाख ११ हजार १११, तृतीय स्थानलाई रु १ लाख ११ हजार १११ र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई रु ६६ हजार ६६६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लब अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीहरू — सर्वोत्कृष्ट प्लेयर, सेटर, ब्लकर, स्पाइकर, डिफेन्स, सर्भर, कोच र अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफीबाट सम्मान गरिनेछ।

बैशाख ६ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमले सहभागिता जनाएका थिए।

Facebook Comments

You may also like