आवासिय चिकित्सकको पारिश्रमिक माग गर्दै अनिश्चितकालिन आन्दोलन, शुक्रबारदेखि ओपिडी सेवा बन्द

Shares

बुटवल।आवासीय चिकित्सकलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै देशभरका चिकित्सक अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार देशभर विरोध सभा सम्पन्न भएका छन्।

यसैक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा, बुटवलले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बिहीबार भैरहवास्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै दुई घण्टा धर्ना दिएका छन्। संघका उपाध्यक्ष वर्षा थापा, सचिव डा. प्रकाश बस्नेत, कोषाध्यक्ष डा. रमेश भट्टराई, सदस्य डा. सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानालाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका थिए।

यही क्रममा संघको आकस्मिक बैठक बिहीबार नै बसेको थियो। बैठकले शुक्रबारदेखि आकस्मिक तथा सघन उपचार (आईसीयू) सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको महासचिव डा. प्रकाश बस्नेतले जानकारी दिए। “केन्द्रको निर्देशनअनुसार हामीले शुक्रबारदेखि ओपिडी सेवा बन्द गर्दैछौं,” उनले भने।

चिकित्सा शिक्षा आयोगको १६औं पूर्ण बैठकमा आवासीय चिकित्सकको पारिश्रमिकसम्बन्धी निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्नु परेको संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले बताए। उनले स्वास्थ्यकर्मीको सम्मान, अधिकार र सुरक्षाका लागि संघर्षको कार्यक्रम अघि बढाउनुपर्ने बाध्यता रहेको बताए।

“आवासीय चिकित्सकको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएसम्म आन्दोलन रोकिँदैन,” उनले भने, “हामीले अस्पतालमा अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छौं।”

संघका सहसचिव डा. मोहन तिवारीले यो आन्दोलन सम्पूर्ण चिकित्सकको हक अधिकारका पक्षमा भएको बताए। उनले सबै चिकित्सकलाई आन्दोलनमा एक ढिक्का भएर सहभागी हुन आग्रह गरे।

बैठकमा डा. योगेन्द्र अग्रहरीले विदेशमा अध्ययन गर्दाको अनुभव सुनाउँदै त्यहाँ चिकित्सकले नियमित पारिश्रमिक पाउने व्यवस्था रहेको बताए। उनले नेपालमा पनि सो व्यवस्था लागू गर्न आवश्यक रहेको भन्दै सबै चिकित्सक संस्थागत रूपमा आन्दोलनमा सहभागी हुनुपर्ने सुझाव दिए।

You may also like