बुटवल।बुटवल हस्पिटल प्रा.लि. र ग्लोबल आइएमई बैंकबीच औपचारिक सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब ग्लोबल आइएमई बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरूले बुटवल हस्पिटलमा विशेष छुटसहितको सेवा पाउनेछन्।
त्यस्तै, बैंकले पनि अस्पतालद्वारा सञ्चालित सामाजिक कार्यहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
सम्झौता कार्यक्रममा बुटवल हस्पिटलका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पताल सबै वर्ग र समुदायका लागि सेवा केन्द्रित रहेकाले यसको प्रवर्द्धनमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले अस्पतालमा सबै प्रकारका उपचार सेवा, अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको हुँदा निर्धक्क भई सेवा लिन आग्रह गर्नुभयो।
ग्लोबल आइएमई बैंक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले उक्त सहकार्यले भविष्यमा थप व्यावसायिक र सामाजिक सहकार्यको मार्ग खोल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बुटवल हस्पिटललाई यस क्षेत्रको नमुना अस्पताल भन्दै बैंकका कर्मचारीहरू पनि यहींबाट सेवा लिने अपेक्षा व्यक्त गर्नुभयो।
सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटलका मेडिकल निर्देशक डा. कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का तथा बैंकतर्फबाट जगलाल भुषाल लगायतको उपस्थिति रहेको थियो।
२५ वर्षअघि स्थापना भएको बुटवल हस्पिटल प्रा.लि. हाल १०० शय्याको संरचनासहित सञ्चालनमा छ। यहाँ विशेषज्ञ चिकित्सकको निगरानीमा आईसीयू, एनआईसीयू, एचडीयू लगायतका सेवा उपलब्ध छन्। अस्पतालमा एकैपटक ४ वटा अपरेशन गर्न मिल्ने ओटी संरचना रहेको छ। हाल ३०० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्।
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ मार्फत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। बैंकको ७७ वटै जिल्लामा शाखा विस्तार भइसकेको छ, जसअन्तर्गत ३५४ शाखा, ३८५ एटीएम, २२१ शाखा रहित सेवा, ६७ एक्सटेन्सन काउन्टर तथा ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा दिइँदै आएको छ।