भैरहवा । नेपाल पत्रकार महासंघ, रुपन्देहीले समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता राधेश्याम विश्वकर्मामाथि आक्रमण प्रयास भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
सोमबार रुपन्देहीको मायादेवी गाउँपालिका–६, मर्चवारमा तस्कर समूहले पत्रकार विश्वकर्मामाथि समाचार संकलनका क्रममा हमला गर्न खोजेको थियो। उनीमाथि घेराबन्दी गरी क्यामेरा खोस्ने, अभद्र व्यवहार गर्ने र खिचिएका दृश्य मेटाउन बाध्य बनाइएको थियो।
मंगलबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले यस्तो कार्य प्रेस स्वतन्त्रता विरुद्ध भएको बताए। उनले प्रहरीकै उपस्थितिमा पत्रकारमाथि दुव्र्यवहार हुनु अत्यन्त चिन्ताजनक विषय भएको बताए।
ज्ञापनपत्रमा भनिएको छ, “स्थानीय प्रहरीको उपस्थितिमा क्यामेराबाट दृश्य हटाउन बाध्य बनाइनु प्रेस स्वतन्त्रता माथिको गम्भीर हमला हो। यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्नुपर्छ।”
पाण्डेले प्रहरी हिरासतमा रहेका भनिएका व्यक्तिहरू भाग्नुलाई सुरक्षा निकायको लापरवाहीको रूपमा टिप्पणी गरे। उनले घटनालाई सामान्य नठान्न र दोषीलाई तत्काल कारबाही गर्न माग गरे।
यसैबीच, महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले पनि घटनामा संलग्नलाई कानुनी कारबाही गर्न जोड दिए। लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपाने र अध्यक्ष कमल रायमाझीद्वारा हस्ताक्षरित अर्को ज्ञापनपत्रमा, घटनाको जानकारी दिँदै गर्दा आरोपी दीपेश यादव पक्राउ परिसकेको बताइएको भए पनि साँझसम्म नपक्रिएको दाबी गर्दै घटनामा सुरक्षाकर्मीको संलग्नताको आशंका व्यक्त गरिएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारमाथि भएको आक्रमण प्रयास दुःखद भएको बताए। उनले क्यामेराबाट दृश्य हटाउन लगाइएको पुष्टि भएमा त्यसलाई गम्भीर रूपमा लिने र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाए।