बुटवल। अंग्रेज फौजलाई पराजित गरी ऐतिहासिक विजय हासिल गरिएको दिन, वैशाख ७ गते, बुटवलको ऐतिहासिक जितगढी किल्लामा ‘जितगढी विजय उत्सव’ देशभक्तिपूर्ण गीत-संगीतका साथ मनाइने भएको छ।
ईस्ट इण्डिया कम्पनीको फौजमाथि विजय प्राप्त गरी मातृभूमि जोगाएको सम्झनामा ‘जितगढी विजय उत्सव साँस्कृतिक साँझ–२०८२’ आइतबार आयोजना गरिने बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ।
हरेक वर्ष वैशाख ७ गते मनाउँदै आएको यो उत्सवलाई यस वर्ष विशेष साँस्कृतिक साँझसहित मनाउन लागिएको हो। बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजना हुने कार्यक्रममा विभिन्न कलाकारहरूले देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गर्नेछन्।
सोही दिन हरेक वर्ष गोरखाबाट पैदल यात्रा गर्दै आउने नेपाली सेनाका पदयात्रीलाई ऐतिहासिक किल्लामा विशेष सम्मानसहित स्वागत गरिने कार्यक्रम पनि तय गरिएको छ। यसपटक पनि गोरखा दरबार हनुमान भञ्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा टोलीलाई स्वागत गरिने उपमहानगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए।
गोरखादरबारदेखि जितगढीसम्मको यो ऐतिहासिक पदयात्रा नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा तेस्रो पटक आयोजना गरेको हो। गोरखाबाट सुरु भएको यात्रा तनहुँ, स्याङ्जा र पाल्पा हुँदै वैशाख ७ गते बुटवलको जितगढी किल्लामा पुगेर सम्पन्न हुनेछ।
पदयात्रामा श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख तथा जितगढी युद्धमा संलग्न गुरुबक्स गुल्मका साथै गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, फेमस महेन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी छन्।
विजय उत्सवअन्तर्गत आइतबार बिहान ९ बजे बुटवलको अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तोलन हुनेछ। त्यसपछि १० बजे बुटवल–१ स्थित गणेश मन्दिरमा पदयात्रा टोलीलाई स्वागत गरिनेछ। मुख्य समारोह बिहान ११ बजे ऐतिहासिक जितगढी किल्लामा सञ्चालन हुनेछ। साँझ ६ बजेदेखि सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
सन् १८१५ (वि.सं. १८७२) वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अंग्रेज फौजलाई जित्दै जितगढी किल्लामा ऐतिहासिक विजय हासिल गरेको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष विजय उत्सवको आयोजना गर्दै आएको छ।