नयाँ वर्षको अवसरमा बुटवलमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र रक्तदान कार्यक्रम

Shares

बुटवल। नयाँ वर्ष २०८२ को अवसरमा पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले बुधबार बुटवलमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम केन्द्रका अध्यक्ष देव कुँवरको अध्यक्षतामा तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै, सम्पर्क केन्द्रले छोटो समयमै उल्लेखनीय कामको सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरे। उनले बुटवल उपमहानगरपालिका र पश्चिम बाग्लुङका सबै स्थानीय तहबीच सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले बाग्लुङ, रुकुम जस्ता स्थानहरूमा उत्पादन हुने कृषि वस्तुहरू—जस्तै आलु, कोदो, मकै—को बजारीकरण गर्न बुटवल उपमहानगरपालिका सधैँ तयार रहेको जानकारी दिए।

स्वास्थ्य, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा पनि नगरपालिकाको सक्रियता रहेको बताउँदै उनले बीटीआई (प्राविधिक शिक्षालय) मा ४० जना छात्रालाई निःशुल्क अध्ययन गराइएको जानकारी गराए। प्राविधिक शिक्षा लिन इच्छुक व्यक्तिहरूलाई सिफारिस गर्न समेत उनले अनुरोध गरे।

नगरप्रमुख पाण्डेले पश्चिम बाग्लुङबाट बुटवलमा बसोबास गर्ने व्यक्तिहरूलाई स्वास्थ्य वा शिक्षा सम्बन्धी कुनै समस्या परेमा नगरपालिकासँग सम्पर्क गर्न आग्रह गरे।

केन्द्रका अध्यक्ष देव कुँवरले संस्थाको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन, कृषि उत्पादनको बजारीकरण, र बुटवल–ढोरपाटन पर्यटन प्रवाह कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिए। उनले ढोरपाटनमा सजिलै देख्न पाइने नाउर, झारल, थार, हिमाली भालु तथा संरक्षणमा रहेका पक्षीहरू पर्यटनका मुख्य आकर्षण भएको उल्लेख गरे।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इन्द्रजित थापाले स्वागत मन्तव्य राखेका थिए भने महासचिव नरहरि भुसालले सञ्चालन गरेका थिए। कार्यक्रममा रक्तदान पनि सम्पन्न गरिएको थियो।

You may also like