बुटवल।नववर्ष २०८२ को अवसरमा बुटवल उपमहानगरपालिका–४ हाटबजारस्थित कान्ति माध्यमिक विद्यालयको प्रांगणमा आज (शनिबार) एकदिने निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
उक्त शिविर बुटवल उपमहानगरपालिका वडा नं. ४, बुटवल हस्पिटल प्रा. लि. र सिटिजन बैंकको सहकार्यमा आयोजना गरिएको थियो। शिविरमा वडा नं. ३, ४ लगायतका स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको वडा अध्यक्ष नरेश्वर पौडेल शर्माले जानकारी दिए।
उनका अनुसार नागरिकको स्वास्थ्यप्रति ध्यान दिँदै वडाले अस्पताल र बैंकको सहकार्यमा स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरेको हो।
बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष एवं समाजसेवी चुन्नु प्रसाद पौडेलले अस्पताल नयाँ भवनमा सरेसँगै सेवा विस्तार गरिएको र यसअघि पनि प्युठान लगायतका ठाउँमा निःशुल्क शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन भइसकेको जानकारी दिए।
सिटिजन बैंक लुम्बिनी प्रदेश प्रमुख प्रदीप श्रेष्ठले बैंकले नाफासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरमा सहकार्य गरेको बताए।
शिविरमा करिब ४ सयभन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा सहभागी चिकित्सकहरूमा वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, डा. सागर पौडेल, वरिष्ठ सर्जन डा. कृष्णप्रसाद खनाल, स्त्रीरोग विशेषज्ञ डा. चन्द्रकान्त शर्मा र डा. विन्दु खरेल, डा. विर्खराज जोशी, हाडजोर्नी विशेषज्ञ डा. समीर उल्लाह र डा. सञ्जीव आचार्य, मानसिक रोग विशेषज्ञ डा. मौसमि थापा, बालरोग विशेषज्ञ डा. प्रदीप शर्मा, ग्यास्ट्रो विशेषज्ञ डा. पुष्पराज ढकाल, दन्त रोग विशेषज्ञ डा. दिपेन्द्र पोख्रेल र डा. ज्योती आत्रेय, आँखा रोग विशेषज्ञ डा. उमेश वेल्वासे, रेडियोलोजी विशेषज्ञ डा. अमन श्रेष्ठ र डा. कुन्दनराज मरासिनी तथा मेडिकल अफिसरहरू डा. प्रतीक सापकोटा, डा. अमृत वश्याल र डा. सिद्धार्थ पाण्डेय लगायत सहभागी थिए।
कार्यक्रममा स्वास्थ्य शिविरमा खटिएका स्वास्थ्यकर्मी तथा स्वयम्सेवीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा वडा सचिव सुन्दरी आचार्य, पूर्व वडा अध्यक्ष टङ्क प्रसाद पराजुली, कान्ति विद्यालयका शिक्षक खुमराज पौडेल, बुटवल हस्पिटलका उपाध्यक्ष ललित खरेल, मेसु डा. कृष्ण खनाल, सिटिजन बैंकका विष्णु पोख्रेललगायतले बोलेका थिए।