यू–१४ टी–२० क्रिकेट: रुपन्देही र नवज्योतीको शानदार जित

Shares

बुटवल ।बुटवलमा जारी यु–१४ टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती क्रिकेट एकेडेमी विजयी भएका छन्। वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भइरहेको प्रतियोगितामा शुक्रबार दुईवटा खेल सम्पन्न भएका हुन्।

नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा रुपन्देही क्रिकेट एकेडेमीले प्यारामाउण्ट क्रिकेट एकेडेमीलाई १०० रनको फराकिलो अन्तरले हरायो। टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो। सुगम पोखरेलले ३९ बलमा ३२ रन र सोयब हसन मुसलमानले १७ बलमा अविजित २९ रन बनाए। प्यारामाउण्टका विराट रोकाहा दुई विकेट लिन सफल भए।

१५९ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको प्यारामाउण्ट १७.५ ओभरमै ५९ रनमा समेटियो। अस्मित अर्यालले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङतर्फ रुपन्देहीका सोयब हसन मुसलमानले ३ विकेट लिँदा सरिक अलि र सत्यम हरिजनले समान २–२ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेबापत सोयब हसन ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा नवज्योती क्रिकेट एकेडेमीले लुम्बिनी वर्ल्ड एकेडेमीलाई ९४ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको नवज्योतीले ३ विकेटको क्षतिमा १६० रन बनायो। ओपनर फुलचन्द प्रजापतिले ४६ रन र इमरान खानले अविजित ३६ रनको योगदान दिए। लुम्बिनी वर्ल्डका करण पोखरेलले २ विकेट लिए।

जवाफी ब्याटिङमा लुम्बिनी वर्ल्ड १६.५ ओभरमा ६६ रनमै अलआउट भयो। गोकर्ण भण्डारीले २५ रन र मिकाल ऐरीले १६ रन बनाए। नवज्योतीका कार्तिक साहनीले ४ विकेट लिए भने इमरान खान र कुनाल भार्गवले २–२ विकेट लिए। उत्कृष्ट प्रदर्शनका आधारमा इमरान खान ‘प्लेयर अफ द म्याच’ घोषित भए।

क्लबका अध्यक्ष भुवन पाण्डेका अनुसार प्रतियोगितामा १२ टिम सहभागी छन्। दुई समूहमा विभाजन गरी राउन्ड रोबिनका आधारमा खेल भइरहेको छ। समूह विजेता दुई टिमबीच उपाधिका लागि खेल हुनेछ।

प्रतियोगिताको विजेता टिमलाई नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट ब्याट्सम्यानलाई २५ सय र सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ।

You may also like

skip


This will close in 5 seconds