बुटवलमा राष्ट्रिय र गरिब घरपरिवार परिचयपत्र वितरण सुरु

Shares

बुटवल। बुटवलमा आजदेखि राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र वितरण सुरु गरिएको छ। कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं ८ को वडा कार्यालयमा आयोजना गरिएको थियो, जहाँ नगर प्रमुख खेलराज पाण्डेयले वडा नं ८ का जेष्ठ नागरिक चुन्नप्रसाद पौडेललाई परिचयपत्र वितरण गरेर कार्यक्रमको सुभारम्भ गरे।

नगर प्रमुख पाण्डेयले अबदेखि वडा कार्यालयबाटै परिचयपत्र वितरण हुने हुँदा जनतालाई सेवा लिन सहज हुने बताए। उनले वडाध्यक्ष र जनप्रतिनिधिहरूलाई वितरण प्रक्रिया सहज बनाउन सक्रिय हुन आग्रह गरे। वितरण कार्यमा टोकन प्रणाली अपनाईने र जेष्ठ नागरिक तथा असक्त व्यक्तिहरूलाई प्राथमिकता दिइने उनले जानकारी दिए।

उपप्रमुख सावित्रा देवी अर्यालले पनि जनतामाझ सेवा सहज बनाउने उद्देश्यले स्थानीय तहमार्फत परिचयपत्र वितरण थालिएको बताउँदै कुनै समस्या आएमा सम्बन्धित निकायसँग छलफल गरेर समाधान गरिने उल्लेख गरिन्।

कार्यक्रम वडा नं ८ का कार्यबाहक वडाध्यक्ष तुलबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो। वडा सचिव विष्णु श्रेष्ठले वितरण तयारी र प्रक्रियाबारे जानकारी गराएका थिए।

यसैगरी बुटवल वडा नं ३ र ४ मा पनि आजैदेखि परिचयपत्र वितरण सुरु भएको छ। पहिलो चरणमा वडा नं २, ३, ४, ५, ७, ८ र ९ का ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र र १ हजार २६२ जनालाई गरिब घरपरिवार परिचयपत्र वितरण गरिनेछ।

रूपन्देही जिल्लामा पहिलोपटक बुटवलबाट यो अभियान सुरु गरिएको हो। परिचयपत्र लिनका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ र आवेदन फारम भरेको प्रमाण वा नागरिकताको प्रतिलिपी ल्याउनु पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ।

You may also like

skip


This will close in 5 seconds