गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै संयुक्त आन्दोलनको घोषणा

Shares

बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्न माग गर्दै रुपन्देहीका ९ वटा उद्योग–व्यवसाय संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन्।

बुधबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही, चेम्बर अफ कमर्स लगायतका संगठनहरूले चरणबद्ध आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन्।

सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीका अनुसार पहिलो चरणमा राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि तथा सङ्घ–प्रदेशका सांसदहरूसँग छलफल गर्दै प्रतिबद्धता संकलन गरिनेछ। साथै, सम्बन्धित एयरलाइन्सका प्रमुखहरूसँग समेत भेटघाट गरिने कार्यक्रम रहेको उनले जानकारी दिए।

त्यसपछि विमानस्थल अगाडि शान्तिपूर्ण विरोध प्रदर्शनसहित सरकारलाई अल्टिमेटम दिने, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्री र नेपाल वायुसेवा निगमका प्रमुखहरूसँग प्रत्यक्ष रूपमा ध्यानाकर्षण गराइने कार्यक्रम तय गरिएको छ।

यदि मागअनुसार उडान नियमित भएनन् भने दबाबमूलक रूपमा कालोपट्टी बाँधेर विरोध, शान्तिपूर्ण र्‍याली र बजार परिक्रमा समेत गरिनेछ। दोस्रो चरणमा नियमित धर्ना तथा विरोधसभा विमानस्थल गेट अगाडि सञ्चालन गरिने चेतावनी पनि आयोजकले दिएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले विमानस्थललाई ‘डाइभर्सन’ का लागि मात्र प्रयोग गरेको आरोप लगाउँदै अबको आन्दोलन निर्णायक हुने बताए।

त्यस्तै, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले नियमित उडानको अभावले गर्दा पर्यटन व्यवसायीहरू लगानी गर्न हच्किएको बताए।

उनीहरूको माग स्पष्ट छ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइयोस्, होइन भने सडक आन्दोलनबाट दबाब सिर्जना गरिन्छ।

You may also like

skip


This will close in 5 seconds