काठमाडौं । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई कारागार प्रशासनले अस्पताल लगेको हो । उनलाई भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा जाँचका लागि लगिएको कारागार प्रशासन स्रोतले जनाएको छ । अहिले उनको स्वास्थ्य जाँच र उपचारको काम भइरहेको छ । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको पनि कारागार प्रशासनले जनाएको छ । उनलाई कस्तो स्वास्थ्य समस्या हो भन्नेबारे केही खुलाइएको छैन ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई रुपेन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि उनी भैरहवा कारागारमा बस्दै आएका छन् । उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी ठगीमा मुद्दा दायर भएको थियो । यी सहकारीमा भने उनी धरौटीमा छुटेका थिए ।