बुटवल। बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट कार्ड) चैत २८ गतेदेखि वडाबाटै वितरण सुरु हुने भएको छ।
पहिलो चरणमा वडा नं. २, ३, ४, ५, ७, ८ र ९ का नागरिकलाई वडा कार्यालयमार्फत कार्ड वितरण गरिनेछ। यसका लागि वडा अध्यक्ष, वडा सचिव र केन्द्रबाट आएका कर्मचारीहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नगर प्रमुख खेलराज पाण्डेले सरकारले वडामै कार्ड वितरणको व्यवस्था गर्नु राम्रो कदम भएको बताए। “पहिले जिल्ला वा इलाका प्रशासन कार्यालय धाउनुपर्थ्यो, अब वडामै पाइने भएकाले सहज हुन्छ,” उनले भने।
उप-प्रमुख सावित्रा देवी अर्यालले वडाध्यक्ष, सचिव र टोल प्रतिनिधिको सहयोगमा कार्ड वितरणलाई सहज बनाउने बताइन्।
बुटवलका १९ वडामा जम्मा ४६,९८० वटा कार्ड वितरण गरिनेछ। सबैभन्दा धेरै वडा नं. ११ मा १२,०१७, त्यसपछि वडा नं. १३ मा ५,९८८, वडा नं. १२ मा ४,३१८, वडा नं. ७ मा ३,५६२, वडा नं. १४ मा २,६३५, वडा नं. ८ मा २,२५३, वडा नं. ९ र १७ मा समान १,९९३, वडा नं. १० मा १,४७९, वडा नं. १६ मा १,५१६, वडा नं. १८ मा १,५३६, वडा नं. १५ मा १,७३६, वडा नं. २ मा १,२४२, वडा नं. ३ मा १,०५०, वडा नं. ४ मा १,०७६, वडा नं. ५ मा ७३६, वडा नं. ६ मा ५७२ र वडा नं. १९ मा ९९८ कार्ड वितरण गरिनेछ। सबैभन्दा कम वडा नं. १ मा मात्र २८० कार्ड वितरण हुनेछ।
जिल्ला सुपरभाइजर दिपक आचार्य, जिल्ला इन्चार्ज अमृत पौडेल र कार्यक्रम सञ्चालिका संगीता अर्यालको विशेष भूमिका वितरणमा रहनेछ।